रास्वपा बैठक

७० प्रतिशत सदस्यले राखे धारणा, छलफलपछि महामन्त्रीको प्रतिवेदन सार्वजनिक हुने

बुधबार, असार १९, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी छ । सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् । झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । साथै अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई बुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए । बुधबार बिहानदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए । उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । साथै ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत लगाएका छन् । महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार