प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो : गगन थापा

शुक्रबार, असार २१, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको दाबी गरे । उनले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको भनाइ राखे । उनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनै पनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेको बताए । ‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ । खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले नयाँ गठबन्धन बनिसकेपछि नेपाली काँग्रेसको हामी सबैलाई नयाँ गठबन्धन बन्ने चाहना थियो होला, कसैलाई थिएन होला । मेरो चाहना प्रतिपक्षमा रहँदा नै उपयुक्त हुन्छ भन्ने थियो’, उनले भने, ‘अरु कसैको चाहना सरकार नयाँ बदलाैं भन्ने थियो होला । तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै अर्को गठबन्धन बन्थ्यो । बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए ।’ महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए । महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताउँदै उनले चार महिनामै लसपस गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरे । उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउदै उनले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउदै उनले आफुहरुले केहि दिन कुर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार