सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यूकेमा ‘एक्जिट पोल’ भनिने मतसर्वेक्षणहरूले किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत हासिल गर्ने देखाएका छन् । स्टार्मर अब यूकेको नयाँ प्रधानमन्त्री बन्न सक्ने प्रक्षेपण गरेको छ । विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यो पटक लेबर पार्टीले सरकार बनाउने मतसर्वेक्षणहरूले देखाएका छन् । लेबरले ४०५ सीट र प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सीट जित्ने प्रक्षेपण गरिएको छ। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ । कुल ६५० सदस्य रहने यूकेको संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।
कहिले बन्छन् नयाँ प्रधानमन्त्री यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा यूकेमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ । नराम्रो चुनावी नजिता बेहोर्ने ठानिएका ऋषि सुनकले नतिजा आएको दिन नै ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोड्ने छन् । संसद्मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन् । नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्ने छ । कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन् । लन्डनको 'होबेन एन्ड सेन्ट प्यान्क्रस' क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए । लेबर पार्टीमा छाया गृहमन्त्रीको जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो ।
लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ । सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए । होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिएका छन् । स्टार्मरले सामाजिक सञ्जाल 'एक्स' मा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएका छन् ।
शीर्ष नेताहरूको पराजय प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन् । रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन् । मतसर्वेक्षणहरूले अर्थमन्त्री जेरमी हन्ट पनि आफ्नो क्षेत्रबाट पराजित हुन सक्ने देखाएका छन् ।–एजेन्सी