ट्यूसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीनजना घाइते

शुक्रबार, असार २१, २०८१

रौतहट । रौतहटको गौरमा ट्यूसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीनजना घाइते भएका छन् ।  घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार घटनामा घाइते तीनजनाको उपचार भइरहेको छ । गौर नगरपालिकानजिकै संचालनमा रहेको ट्यूसनतथा कोचिङ्ग सेन्टरका विद्यार्थीहरु बिच झडप भएको खबर पाउने बितिकै प्रहरी टोलीपुगेको उनले जानकारी दिए ।प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय संजिव गुप्ता, २१ वर्षीय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवमकुमार सहनीलाई पक्राउ गरेको छ । 
चार जनालाई पक्राउ गरेपनि एकजनाको संलग्नता नदेखिए पछि तीनजना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाभित्र अनुमति समेत नलिएका ट्यूसन तथा कोचिङ्ग सेन्टर संचालनमा रहेको यहाँका अगुवाहरुको भनाइ छ । गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय इकाइले समेत कुनै चासो नलिएको अभिभावकहरुले गुनासो गरेका छन । व्यापारिक प्रयोजनका लागी बनाइएका सटरमा एक पटकमा ४० भन्दा पनि विद्यार्थीलाई राखेर ट्यूसन र कोचिङ्ग पढाउने गरिन्छ । एउटै कोठामा क्षमताभन्दा बढी विद्यार्थी राखेर पठनपाठन हुँदा समेत नियमक निकाय मौन बसेको आरोप लागेको छ । तर गौर नगरपालिकाले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार