बेलायतमा ऋषि सुनकले दिए राजीनामा, सर किअर स्टार्मर नयाँ प्रधानमन्त्री नियुक्त

शुक्रबार, असार २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बेलायतमा हिजो भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि राजा चार्ल्सले स्टार्मरलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
राजा चार्ल्सलाई राजीनामा दिएर निवर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिए लगत्तै लेबर पार्टीका नेता सर किअर स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राजा चार्ल्सलाई भेटेर प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गए ।
यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका थिए भने स्टार्मरले ‘अब परिवर्तन सुरु हुन्छ’ भनेका थिए ।
विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४१२ सीट जितेको हो । यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।
यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक छ । अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन् । सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए ।
आफ्नो निर्वाचन क्षेत्र सुरक्षित रहेको पक्का भएपछि सुनकले लन्डन फर्किएर राजासँग भेट गरेका थिए । पत्नी अक्षता मूर्तिसँग बकिङ्गम दरबार गएका सुनकले राजालाई आफ्नो राजीनामा बुझाए ।
नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले यसअघि ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोडेका थिए । राजा चार्ल्ससँग प्रधानमन्त्रीको रूपमा अन्तिम भेट गरेर ऋषि सुनक बकिङ्गम दरबारबाट बाहिरिएका हन् । 

अब के हुन्छ
बेलायतमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
राजा र सर किअर स्टार्मरबीच भेटघाट भेटघाट भएपछि बहुमत पाएको दलका नेताका रूपमा स्टार्मर प्रधानमन्त्री नियुक्त भएका छन् । त्यस क्रममा राजाले स्टार्मरलाई नयाँ सरकार गठन गर्न र सरकारको नेतृत्व गर्न निम्तो दिएका थिए ।  उनी दुई वर्षभित्र यूकेको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति बनेका छन् । राजासँग भेट गरेपछि उनले स्थानीय समयानुसार मध्याह्न राष्ट्रको नाममा सम्बोधन गर्ने छन् ।

कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट हट्ने घोषणा
टेन डाउनिङ स्ट्रीटबाट बाहिरिँदै गर्दा सुनकले यूके संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताए । उनले आफ्ना सहकर्मी र परिवारलाई धन्यवाद पनि दिएका छन् ।
उनले लेबर नेता स्टार्मरको प्रशंसा गर्दै उनी ‘शालीन सार्वजनिक छवि’ व्यक्ति भएको र आफूले उनको सम्मान गर्ने गरेको बताए ।
उनले आफू कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट पनि हट्ने घोषणा गरेका छन् । तर त्यसका लागि केही समय लाग्ने छ । आफ्नो उत्तराधिकारी चयन गर्ने व्यवस्था भएपछि उनले राजीनामा दिने छन् । संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन् ।
नवनिर्वाचित संसद्को पहिलो बैठक जुलाई ९ मा बस्ने छ । यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ । त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशत जति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ । अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो ।
बिहीवार भएको मतदानपछिको  ‘एक्जिट पोल’ ले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए । एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ ।  कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन् ।
लन्डनको ‘होल्बर्न एन्ड सेन्ट प्यान्क्रस’ क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए ।
लेबर पार्टीमा ‘छाया गृहमन्त्री’ को जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो ।

लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत
बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ । सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए ।
होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिएका छन् ।
स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएका छन् ।–एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार