गोदावरी पनि पूर्ण खोप दिगोपना सुनिश्चितता नगर (भिडियाे)

शुक्रबार, असार २१, २०८१

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा भएको छ ।  गोदावरी नगरपालिका स्वास्थ्य शाखाले बिहीबार नगरपालिकाको सभाहलमा आयोजना गरेको एक औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका अध्यक्ष ऋषिदेव फुयाँलले गोदावरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । 
यसअघि ललितपुरका बागमति गाउँपालिका र महाँकाल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेका छन् । गोदावरी नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपानेको सभापतित्वमा आयोजित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा नगरका सवै वडाहरूलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।   कार्यक्रममा ६० वर्ष उमेर पुगेका १९ जना महिला स्वास्थ्य स्वयम सेविकालाई बिदाई पनि गरिएको थियो ।  उमेर हदका कारण अवकास पाएका १९ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाले ४० हजार रुपैयाँ नगदसहित विदाई गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अध्यक्ष ऋषिदेव फुयाँलले बज्रबाराही प्रदेश अस्पतालको सेवालाई विस्तार गर्दै प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । 
कार्यक्रमका सभापति एवम् गोदावरी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपाने विदाई भएका स्वास्थ्य स्वयम् सेविकाहरूको बाँकी जिवन सुखमय होस् भन्ने कामना गरे । कार्यक्रममा राजाराम कार्कीले ललितपुरमा गोदावरी नगरपालिका पूर्ण खोप सुनिश्चिता नगर घोषणा हुनेमा तेस्रो भएको जानकारी दिँदै दादुरा निवारण र पोलियो उन्मुलनका लागि सरकारले लिएको लक्ष्य पूरा गर्न आह्वान गरे । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले नेपालले खोपकै माध्यमबाट बाल मृत्युदर र मातृ मृत्युदरमा उल्लेख्य सुधार गरेको बताए । 

Shekhar-1720173583.jpg
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले मानव जिवनमा खोपको भूमिका देशको सेना–प्रहरी सरह रहेको बताए । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै गोदावरी पूर्ण खोप दिगोपना सुनिश्चिता नगर घोषणासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यावद दिए । 
पूर्ण खोप नगर घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष ऋषिदेव फुयाँल, गोदावरी नगरपालिका सामाजिक विकास समितिका संयोजक शेखर न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्का, जन स्वास्थ्य प्रमुख डा.भुवन पौडेल, सवै वडाका वडाअध्यक्ष नगरपालिकाका विभिन्न शाखाका प्रमुख, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य सस्था प्रमुख, महिला स्वास्थ्य स्वयम सेविका उपस्थित भएका थिए । 
१२ देखि २३ महिनाका सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता नै पूर्ण खोप नगर घोषणाको मुख्य आधार हो । 
स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिले नगरमा रहेका १२ देखि २३ महिनाका सबै बालबालिकाले १ बर्षको उमेरभित्रै सबै खोपको मात्रा पूरा गरेको निर्णयको प्रतिलिपि पेश गरेपछि पूर्ण खोप दिगोपना सुनिश्चिता नगर घोषणा गरिन्छ ।  जिल्ला खोप समन्वय समितिले प्राविधिकसहितको टोली खटाएर पूर्ण खोप भएको सुनिश्चित गर्न र्‍यान्डम स्याम्प्लिङ बिधिबाट नगरका कम्तीमा  ३ वटा वडाका एउटा–एउटा टोलमा सर्भेक्षण गरेपछि यो घोषणाका लागि योग्य मानिने छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार