महोत्तरीको गौशालाबाट ११ बर्षिया बालिका वेपत्ता, अपहरणको आशंका

शुक्रबार, असार २१, २०८१

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षिया बालिका ७ दिनदेखि वेपत्ता भएकी छन् । गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको बेला कृतिकुमारी महतो वेपत्ता भएकी हुन् । वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा बस्ने १९ बर्षीय आकाश कुशवाहा एकै दिन वेपत्ता भएपछी वालिकाको परिवारले कुशवाहाले नै  वेपत्ता बनाएको हुन सक्ने आशंका  गरेका छन् । यसैको आधारमा कुशवाहामाथि वेपत्ता बालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन् । 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई  कुशवाहाले लिएर गएको थाहा पाएका छौं ।' कृतिकाका बुबा संजय कुमार महतोले भने, 'उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछि अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौं ।' बालिका कहाँ छिन भन्ने बिषयमा मोबाइल फोन समेत प्रहरीले  ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा बालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको वेपत्ता बालिकाका परिवारजनले बताए । 'हामीलाइ प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पायौँ ।' बेपत्ता बालिकाका मामा देवनारायण महतोले भने, 'त्यसपछि उनीहरुले हामीले बालिका खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरबुबा प्रभु महतोको घरमा पुर्‍याएकोसम्म थाहा पाएका थियौं तर अहिले हाम्री भान्जी कहाँ छिन भन्ने केही थाहा छैन ।' प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तले गुनासो गरेका छन् । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दाबी गरेको छ । ईलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सूर्यबहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भईरहेको बताए । उन्ले भने, 'हामी लागिरहेका छौं, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र वनाएका छौं ।' यता बालिका वेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण भएकाे जनाएका छन् । मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले बालिका वेपत्ताकाे विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छन् । 'उमेर नपुगेकी बालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा बालिकाका आफन्त अगाडी बढनुपर्छ' मंजु खतिवडाले भनिन् । वेपत्ता भान्जीको बिषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार