पत्रकारितामा नक्कल गर्ने विकृति बढ्दो छ : रामकृष्ण रेग्मी

शनिबार, असार २२, २०८१

काठमाडौं । प्राध्यापक एवम आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले मिडिया क्षेत्रमा आएको परिवर्तनका कारण आम सञ्चारकर्मीहरुलाई अब विगतमा हासिल गरेको सीपले मात्र नपुग्ने बताएका छन् ।  सञ्चारकर्मीले तथ्य र तर्कका भरमा दुवै पक्षलाई समेट्न सक्नुपर्ने बताउँदै उनले  पत्रकारले उठाउनैपर्ने कुरालाई एकदमै थोरै छुने र नउठाए पनि हुने कुरालाई धेरै महत्व दिने गरेको बताए ।  शनिबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘पत्रकारितामा हुबहु नक्कल गर्ने विकृति ज्यादै छ । यसलाई रोक्न सम्पादक होइन, संवाददाताले भूमिका खेल्नुपर्छ ।  म ‘कपीपेस्ट’ गर्दिनँ भनेर भित्रैदेखि सहमत हुनुपर्छ । यही नहुँदा हामी ‘रिपोर्टिङ प्रदूषण’ मा छौं । संवाददातामा समाचार संकलनका लागि फिल्डमै पुग्नुपर्छ भन्ने मानसिकता नै छैन । पत्रकारितामा अध्ययन संस्कृति घटेको छ ।’ साथै उनले अहिले नेपालका आमसंचारमाध्यम एउटा चौबाटोमा गइरहेको बताए । उनले एकातिर टेक्नोलोजीको स्मार्ट प्रयोग गर्नुपर्ने सम्भावना धेरै छ भने अर्कोतिर रिपोर्टिङको अभ्यासलाई परिनर्तन नगरी नहुने अवस्था आएको उनको जिकिर छ ।  रेग्मीले आवाजहरूलाई सशक्त बनाउने, सत्यलाई उज्यालो बनाउने प्रेसको शक्ति अर्थात् आमसंचार जगत अहिले मौन रहेको समेत बताए ।  उनले भने, ‘अहिलेको प्रविधिमा सूचना प्रवाहलाई निरन्तरता दिन र  प्रयोगकर्ताहरूले चाहेको जस्तो सूसूचित सूचना दिन आमसंचार माध्यमले सकिरहेको छैन, यसका लागि सामग्रीका स्वरूपहरू परिवर्तन हुनुपर्दछ ।’  यसैबीच उनले सोसल मिडियामा अहिले जुन परिवर्तन आइरहेको छ त्यसलाई एक किसिमको रिस्पोन्स गर्नुपर्ने बताए । 
उनले भने, ‘सोसल मिडियाबाट  सबै  सामाग्री आइरहेको  हुन्छ भनेर हामी आमसंचार जगतले त्यत्तिकै  बस्न मिल्दैन । त्यसैले  रेडियोको  पनि  यहाँ उत्तिकै  भूमिका छ, टेलिभिजनको लागि पनि  भूमिका छ, पत्रपत्रिका र  अनलाइनहरूको पनि उत्तिकै  भूमिका छ ।’  साथै उनले कन्टेन छान्ने र कन्टेनलाई विश्वसनीय बनाउने काममा आमसंचार माध्यमले जोड दिनुपर्ने बताए । 
‘हाम्रो भूमिका सिद्दियो सोसल मिडियामा सबै गयो भनेर आमसंचार माध्यमले चुप लागेर बस्नु हुँदैन,’ उनले भने ।  अहिले संचार जगतमा ठुलो  परिवर्तन आएकोले पत्रकारको प्रतिनिधित्व संस्थाले सधैं अगाडि जानुपर्ने बताए । प्रतिनिधित्व संस्थाले पत्रकारहरूको सर्वव्यापी हित मात्र नभइ यो  पेसालाइ  नै  योगदान  दिनुपर्ने उल्लेख गरे ।  साथै  पत्रकारिता भित्र आएका परिवर्तनहरूलाइ पत्रकारहरूले पनि समाचार कक्ष भित्र जानु अगाडि सहजीकरण गर्नुपर्ने बताए ।  साथै उनले थुप्रै टेक्नोलोजीको सम्भावनाहरू रहेकाले यसमा बाधा पर्न नहुने बताउँदै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न, जनाताको सूसूचित हुने अधिकारमा पत्रकारले गर्ने जुन भूमिका हुन्छ त्यसमा कहिँकतै आँच नआउने किसिमको नियमहरू आउनुपर्ने बताए । उनले भने, ‘पुरानो नियमले भ्याउँदैन । नयाँ नियम आउनु नै पर्छ तर यि आएका नियमहरूले  कहीँ अभिब्यक्ति स्वतन्त्रतालाई अप्ठ्यारो गर्ने, सूचना पाउने जनताको अधिकारलाई हनन् हुने किसिमका नियमहरू आउनु  हुँदैन । ’ साथै उनले अहिलेको युग परिवर्तनको युग भएको बताए । युग परिवर्तन भए पनि जनताको सूसूचित हुने अधिकारलाई जोगाउने जिम्मा पत्रकारिता पेसालाई नै भएको बताए । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार