जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : शाही

आइतबार, असार २३, २०८१

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको शाहीको आरोप छ । उनले भने, ‘सभामुख महोदय, जात्रा हेरियो । पूरानाहरुले त गरे गरे, नयाँ साथीहरुलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पूराना नेताहरुले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस, यही संसदमा फुलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’ गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधीमा फाइल खोल्न चेतावनी दिए । ‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँडनुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस न । हामी साथ दिन्छौं’, उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार