सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम

बिहीबार, असार २७, २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो । सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहनुहुने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागएकी थिइन् भने विसं २०५२  देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार