आजको राष्ट्रिय सभा बैठक किन स्थगित भयो ?

बिहीबार, असार २७, २०८१

काठमाडौं । आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो । आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर, एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेर बजेट फेल गराउन खोजेपछि बैठक सरेको थियो । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रतिनिधिसभाले १६ असारमै पारित गरेको थियो । नेकपा एमाले सांसद भगवती न्यौपानेले राष्ट्रिय सभामा दर्ता गरेको आर्थिक विधेयकको शेयर हस्तान्तरणमा कर नलाग्नेसम्बन्धी दफामा संशोधन प्रस्ताव दर्ता गरेर कांग्रेस-एमालेले सो संशोधन पारित गर्ने तयारी गरेपछि सरकार झस्केको थियो । यो संशोधन प्रस्ताव पास भएमा बजेट असफल भएको ब्याख्या गर्ने रणनीति कांग्रेस-एमालेले बनाएपछि अर्थमन्त्री बर्षामान पुन बैठकमा उपस्थित भएका थिएनन् । त्यसपछि अध्यक्ष नारायण दाहालले बैठक आइतबारसम्मका लागि स्थगित गरेका थिए । अब राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते आइतबार सवा १ बजे बस्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार