सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यादव खरेललाई चिनाउने अनेकौँ विधा भएपनि पछिल्लो समय उनको चिनारी चलचित्र निर्देशकका रुपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाएका विधा हुन् । राणाकालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’ बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जिवनीमाथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ । ‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ । जसमा नायक दिलिप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाए । भानुभक्त निर्माणमा लागि करिब दुई बर्षसम्म अध्ययन गरेका खरेल पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउँछन् । ‘आदिकवि भानुभक्तले नेपाललाई भाषा र साहित्यमार्फत नेपाल एकिकरण गरेको र घाँसीबाट प्रेरणा लिएर राष्ट्रप्रेमको भावना जागृत गरि समाजलाई मद्दत हुने हिसाबले साहित्यको सिर्जना गरी नेपाली भाषामा ‘रामायण’ र अन्य कृतिहरू पनि रचना गरे भन्ने कुरा यसमा चलचित्रमा समावेश गरेका थियौं । यसका लागि म आफंैले भानुभक्तलाई चिनेका धेरै मानिसहरुको अन्तर्वार्ता लिएको छु । धेरै अध्ययन गर्नुपरेको थियो,’ साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले भने । खरेलले आदिकवि भानुभक्तको अर्काइभ अहिले पनि सुरक्षित राखेको बताउँछन् । ‘अहिले पनि विभिन्न अर्काइभहरु सुरक्षित राखेका छौं । युसिएलएलले राखेको छ । भल्ब बनाएर जमिनमुनि भुकम्प गए पनि केही नहोस् भनेर त्यहाँ सूरक्षित राखिएको छ,’उनले भने । वाल्मिकीले लेखेको रामायणलाई नेपाली भाषामा उतारेर भानुभक्तले नेपाली भाषालाई चिनाउन ठुलो सहयोग गरेको उल्लेख गर्दै यही कारण पनि फिल्म नेपाली माझ सधैं अमर रहने खरेल बताउँछन् । तर आदि कविको वायोपिक फिल्म‘आदिकवि भानुभक्त’ निर्माण गर्न त्यति सहज नभएको खरेलको अनुभव छ । उनी भन्छन्,‘भाषा, कला, साहित्यमा भानुभक्तले गरेको योगदान अतुलनीय छ । यो सबै कुराको अध्ययन गर्नु ठुलो चुनौती चलचित्र निर्माणका क्रममा भयो । केही नछुटोस् भनेर धेरै मेहेनतका साथ काममा लाग्नु परेको थियो । आदिकवि भानुभक्त बनाउँदाको समय ध्वनी र दृश्य एकैचोटि लिन सजिलो थिएन । त्यो बेला भानुभक्त फिल्म बनाउँदा छुटै दृश्य र छुट्टै ध्वनी चाहिन्थ्यो । तथ्य लिएर यथार्थ चित्रण गर्न निकै मिहिनेत गर्नु पर्यो । भानुको जन्मथलो उनकै घरको महिनौं बसेर अध्ययन, छायांकनलगायतका काम गर्नुपरेको थियो । नेपालमा मात्र होइन, दार्जिलिङ, सिक्किम र बर्मामा समेत छायांकन गर्ने योजना थियो । त्यस्तै बर्मामा पनि नेपाली भाषीका धेरै कथा–व्यथा थिए । त्यहाँ पनि भानुभक्त लोकप्रिय छन् । चलचित्र निर्माण गर्दाको बखतको अनुभवहरु रमाइला र चलचित्र उतिक्कै असहज थियो ।’ फिल्म बनाउने बेला न दार्जिलिङबाट यथोचित सहयोग मिल्यो न बर्माबाट । फिल्म बनाउने क्रममा अध्ययनका लागि यादव खरेल बर्मा पुगेका थिए । तर, त्यहाँको सरकारले छायांकन अनुमति नदिएकाले चलचित्रमा बर्मालाई समेट्ने रहर पनि अपूरै रह्यो । सानो सिमाभित्र मात्र बसेर भानुभक्त निर्माण गरिएको उनको अनुभव छ । ‘आदिकवि भानुभक्त’ इतिहासको दस्तावेज रहेकाले पैसा आर्जन गर्ने उद्देश्य नभएको खरेलले सुनाए । भानुको साहित्यिक इतिहास लिपिबद्ध गर्ने प्रयासमा सफलता मिलेको उनको अनुभव छ । फिल्म भानु जन्मस्थल विकास समितिको सम्पत्ति भएपनि त्यसलाई सुरक्षा नगरिएकोप्रति खरेल चिन्तित छन् । चलचित्रमा कमलमणि दिक्षित, बिक्की साह, दिलिप रायमाझी, सुवर्ण श्रेष्ठ र अनिता सिलवाल लगायतका कलाकारले अभिनय गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष समेत भइसकेका खरेलको बेलामा बनेको राष्ट्रिय चलचित्र नीति अहिलेसम्म पनि कार्यान्वयनमै छ । मुल नेतृत्वमा पुग्ने राजनीतिक दलका नेताहरुमा चलचत्रि सम्बन्धि चेतनाको अभावकारण चलचित्र क्षेत्र अगाडि बढ्न नसकेको खरेको भनाइ छ । ‘म चलचित्र विकास बोर्डको अध्यक्ष भएकै बेला राष्ट्रिय चलचित्र ऐन, २०२६ लागु गरिएको हो । तर त्यो नीति खासै प्रभावकारी रुपमा कार्यान्वयनमा आएन । दुर्भाग्य के भयो भने मुलुक चलाउन भनेर मन्त्री भएर आउनेहरुमा चलचित्र सम्बन्धि चेतना भइदिएन । चलचित्र विकास बोर्ड आफ्ना मान्छेका लागि भर्ति केन्द्र जस्तो बनाइदिए । यसकारण बोर्डले सोचेको जस्तो काम गर्न सकेन । आज ५५ वर्षवितिसक्दा समेत नीति संशोधन गरेर ल्याउन सकिएको छैन,’ उनले भने ।