सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिवार पनि जारी छ । दुई बस शुक्रवार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवका अनुसार नदीमा पानी बहाब बढेको, पानी धमिलो भएको साथै बर्षा भइरहेकाले खोजी कार्यमा असहज भइरहेको छ । यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबार दिनभर जारी राखिएपछि केही फेला नपरको यादवले जानकारी दिए । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए । शनिबार बिहानबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् । उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।