पाँच अर्बमाथिका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र

बिहीबार, जेठ २०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष देखि पाँच अर्बभन्दा माथिका आयोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउन लागेको छ ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) र सङ्गठन मोरङले आज संयुक्त रूपमा आयोजना गरेको श्रव्यदृश्य कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पाँच अर्बभन्दा माथिका आयोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउन लागेको जानकारी दिएका हुन् । उनका अनुसार बजेट कार्यान्वयनको लागि गत जेठ १७ गतेदेखि नै काम शुरु भइसकेको छ ।  उनले सरकारले दिने छुट व्यापारीको तहसम्म पुग्नका लागि प्रक्रिया झन्झटिलो भएकोले कार्यविधि संशोधन गरी सहज बनाइने उल्लेख गरे । बजेट कार्यान्वयन हुने आधार पर्याप्त रहेको दावी गर्दै उनले समेटिएका कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण अधिकार अर्थले सम्बधित मन्त्रालयलाई दिइसकेको स्पष्ट पारे । एकैपटक सबै सहुलियत दिन नसकिने भएकोले विस्तारै निजी क्षेत्रको सबै माग सम्बोधन गर्ने पनि प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । त्यस्तै बैंकहरूले कर्जा असुली गरिरहेको कुराप्रति सरकार गम्भीर रहेको भन्दै उनले यो विषयमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताए । भर्चुअल कार्यक्रममा सरकारले प्रस्तुत गरेको बजेट वस्तुगत रूपमा राम्रो आएको भन्दै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पूर्वका उद्योगी तथा व्यवसायीले आग्रह गरेका छन् । प्रदेश नं १ का उद्योगीले बजेटको कार्यान्वयनका लागि प्रभावकारी संयन्त्रको जरुरी रहेकामा जोड दिएका थिए । मोरङ उद्योग सङ्गठनका अध्यक्ष सुयस प्याकुरलेले बजेट राम्रो आएको भन्दै कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानकाकर्षण गराए । उनले सरकारले २०७५ मङ्सिर २४ गतेको मन्त्रीपरिषद्को निर्णयबाट कपडाको उद्योगहरूको ऋण ब्याज, भ्याटमा छुट तथा सहुलियतपूर्ण कर्जा दिने भनेर घोषणा गरे पनि अझै कार्यान्वयन हुन नसकेको गुनासो गरे । त्यस्तै उद्योग सङ्गठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले सरकारले आगामी आर्थिक बर्षको बजेटमा डिजेलको भ्याट फिर्ता गर्ने विषय स्वागतयोग्य भएपनि कार्यन्वयनमा राजनीतिक तथा अन्य कारणले जटिलता हुने होकि भन्ने आशंका देखिएको बताए ।  सङ्गठनका सदस्य पारस लुनियाले कागज उत्पादनको लागि चाहिने कच्चा पदार्थ महङ्गो भएको तथा नेपालमा नै उत्पादन गर्न सकिने कतिपय उपकरणहरूको पार्टपूर्जा, कच्चा पदार्थ आयात गर्दा कर बढी परेको गुनासो गरे । उद्योगी भोलेश्वर दुलालले बैंक तथा वित्तिय संस्थाले अहिले पनि व्याजदर बढाएर कर्जा तिर्नको लागि दबाब दिइरहेको, व्याजदर छुट नदिएको जस्ता समस्या व्यापारीले भोगिरहेको बताए । उद्योगी राजकुमार गोल्छाले सरकारले जुटबालीको विकासको लागि बजेट नछुट्याएमा गुनासो गरे । उद्योगीहरु सुरेन्द्र गोल्छा, राजकुमार गोल्छा, प्रदिप सारडालगायतले बजेटले नीजि क्षेत्रका अधिकांश मागहरू समेटेको र कार्यान्वयका लागि अर्थमन्त्रालय लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण आफूहरूले दिएको सुझाव बजेटमा नसमेटिने डर रहेपनि सरकारले अधिकांश सुझाव समेटेकामा प्रसन्नता व्यक्त गरे । उनले सरकारले ल्याएका कतिपय विषय मौद्रिक नीतिले पनि निरन्तरता दिनेमा आफू आशावादी रहेको स्पष्ट पारे । उनले भने, “सरकारले यसपाली बजेट निक्कै राम्रो ल्याएको छ, रोजगारदाताले तिर्नुपर्ने सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने जेठ र असार महिनाको रकम पनि आफैँले तिरिदिएको, पर्यटन उद्योगलाई उत्पादन उद्योग सरह व्यवहार गरेको र उक्त क्षेत्रको घाटा परिपूर्तिका लागि १० वर्षको अवधि दिएको छ यो निक्कै राम्रो कार्यक्रम हो ।”

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार