लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक र धार्मिक कारण जोडिन्छ : डा.रुद्रनाथ अधिकारी

मंगलबार, साउन १, २०८१

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दानएवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइएको छ ।   साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ ।  अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्धहरू बताउँछन् ।  परम्पराअनुसार काग भलायो, कुकर डाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीआदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजागरी अगुल्टो फालिन्छ । 
लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंखफुक्ने, घण्ट बजाउने, ढोकाबन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । लुतो फ्याँक्ने चलनसिधा स्वास्थ्यसँग जोडिएको संस्कार भएको धर्मसंस्कृतिबारे जानकारहरू बताउँछन् । असार महिनामा हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गरेको र साउन १ गते लुतो फ्याँक्ने चलन सुरु भएको मानिन्छ ।यो प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न नसकिए पनि खस साम्राज्यबाट शुरु भयो भन्ने अनुमान गरिन्छ ।   बरिष्ठ ज्योतिष एवम पण्डित डा.रुद्रनाथ अधिकारी लुतो फ्याँक्ने चलनसँग वैज्ञानिक कारण जोडिएको बताउँछन् । ‘लुतो फाल्ने भनेको साउन महिनामा पृथ्वी रजश्वला हुन्छिन् । गंगा रजश्वला हुन्छिन् । अर्काे कुरा साउन महिनामा दुध खानु हुन्न । बैज्ञानिकहरूले पनि अघिपछिको महिना र साउन महिनाको दुधमा विषाक्त हुन्छ भनेर छुट्याएको छ । सकेसम्म साउन महिनामा दुधपनि ग्रहण नगर्नु भनिन्छ । गाईले विभिन्न प्रकारका विशाक्त पानी पिएको हुन्छ त्यही भएर साउनमा दुधपिउन उचित हुँदैन ।  भगवानशिवले किराँत स्वरूपको रूप धारण गरेर पृथ्वीमा भगवती, गौरी, पार्वतीसँग विचरण गरेर भक्तहरूका ढोकाढोकामा पुगेर सुखदुःख अनुभुत गरेर प्रत्यक्ष रूपमा भगवान शिव साउन महिनामा अवतरित भएका हुन् । त्यसैले यो महिनालाई लुतो फाल्ने महिना पनि भनिन्छ,’ डा अधिकारीले भने ।  ‘असारमा विभिन्न प्रकारका किटपतिङ्गरबाट संक्रमण हुन्छ र छालामा विशेष प्रकारको घाउहरू हुन्छन् । त्यसैले साउनमा राक्षसको मूर्ति बनाएर नयाँ फल अर्पण गरेर १६ प्रकारका जडिबुटीहरू मूर्तिमा चढाएर चारै दिशामा जलफालेर परिवारलाई केही नहोस् भनेर यो पर्व मनाइने गरिन्छ,’ उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार