रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत

मंगलबार, साउन १, २०८१

काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्पेलाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत गरेका थिए । स्टेडियममा ८० हजार फ्यानहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पूरा भएको बताएका थिए । आफू रियल म्याड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको बताउँदै एम्बाप्पेले आफू पूर्णरुपमा रियल म्याड्रिडलाई अपनाउन आएको बताएका थिए । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो । यसअघि उनले आजै मेडिकल समेत गरेका थिए ।

Mbappe.jpg-5-1721131894.jpg
२५ बर्षिय एम्बाप्पे फ्री- ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।  रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार