परराष्ट्रमन्त्री डा.राणा र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा

मंगलबार, साउन १, २०८१

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले जानकारी दिइन ।  सोमबार मात्रै परराष्ट्र मन्त्रालयको पदभार सम्हालेकी राणाले सीमा समस्याहरूमा चनाखो भएर काम गर्ने बताएकी छन् । उनले तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान हुने बताइन् । 


उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरू तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरिन् ।  पहिलोपटक मन्त्री बनेकी राणा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी हुन् । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए ।  कांग्रेस समानुपातिक मार्फत प्रतिनिधिसभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार