सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आरोप लगाउदै आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहेको र केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'पहिले सत्तामा छँदा वहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो ! अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिह्न लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं ! (भलै गण्डकी प्रदेशको केसमा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको छ !) दल त्याग गरिसकेको मान्छेलाई हामीले कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट विदा गर्यौं ! निर्वाचन आयोगले त्यसलाई स्वीकारेर अभिलेखीकरण गरिसकेको छ । अहिले वहाॅहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा/ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ । निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन ? वहाहरू संविधान र कानून भन्दा माथि हो ? राजनीतिमा नैतिकता र मूल्य मान्यता भन्ने केही जिनिस हुॅदैन ? सत्ता नै सबै थोक हो ? यसरी आउॅछ ‘समाजवाद ?'