बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा

बुधबार, साउन २, २०८१

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति रहेको खुलासा भएको छ ।  ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँथे । जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिएका थिए । काम गराइदिने बहानामा उनीसँग पैसा असुल्ने गरेको विषय बाहिर आएपछि अहिले छानबिन शुरु भएको छ । यो कुरा बाहिर आएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छन् । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार जहाँगीर यसअघि नै अमेरिका भागिसकेका छन् । बंगलादेशमा पूर्व सेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारी र धेरै सरकारी कर्मचारीहरूको भ्रष्टाचारका मुद्दाहरू बाहिर आएका छन् । यो सूचीमा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको छ । प्रधानमन्त्री हसिनाले भनिन्, 'मेरो घरमा काम गर्ने मान्छे आज करोडौंको सम्पत्तिको मालिक छ, उनले यति पैसा कहाँ कमाए ? एक साधारण बंगलादेशीले यति धेरै सम्पत्ति जम्मा गर्न १३ हजार वर्ष लाग्न सक्छ । सरकारले ख्याल गर्नुपर्छ । यी विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ ।' वास्तवमा विश्व बैंकका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशमा प्रतिव्यक्ति आय २५२९ डलर छ । शेख हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि नै प्रतिपक्षले सरकारलाई घेरेको छ । बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी) का प्रवक्ता वाहिदुज्जमानले हसिनाको नोकरसँग यति धेरै पैसा हुँदा, उनको मालिकको कति छ भनेर अनुमान गर्न पनि नसकिने बताएका छन् । उनले नोकर पक्राउ नपरेको र उनलाई भर्खरै जागिरबाट हटाइएको बताए । गत जनवरीमा प्रधानमन्त्री हसिना चौथो पटक सत्तामा आएपछि भ्रष्टाचारका धेरै घटना बाहिर आएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले हालै देशका पूर्व राष्ट्रिय प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अनुसन्धान सुरु गरेको छ । कुनै समय हसिनासँग नजिक रहेकी बेनजीरमाथि करोडौंको सम्पत्ति रहेको आरोप छ, जुन उनले भ्रष्टाचार गरेर जम्मा गरेका छन् । अमेरिकाले २०२१ मा अहमदमाथि धेरै प्रतिबन्धहरू पनि लगाएको थियो। अहमदमाथि सयौं व्यक्तिको अचानक बेपत्ता वा हत्याका घटनामा संलग्न रहेको आरोप थियो । यसैबीच बंगलादेशका स्थानीय पत्रिकाहरूले देशका पूर्व सेना प्रमुख अजिज अहमदमाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन् । उक्त रिपोर्ट बाहिर आएपछि भ्रष्टाचार विरोधी आयोगले अजिजको धेरै सम्पत्ति जफत गरेको थियो । यसबाहेक उनको बैंक खाता पनि रोक्का गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार