सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यससँगै अहिलेसम्म फेला परेको शवको संख्या २० पुगेको छ । जसमा १८ पुरुष र २ महिला रहेका छन् । अहिलेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थिए । हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।