अर्काे शुक्रबार धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

शुक्रबार, साउन ४, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।  सांस्कृतिक तथा व्यापारिक महोत्सवको सह आयोजक ललितपुर महानगरपालिका वडा नं. २३ र २४ रहेका छन्। ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालय सातदोबाटोले महोत्सवमा विशेष सहयोगीको भूमिका निर्वाह गर्नेछ । कला सांस्कृतिक संरक्षण ललितपुरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. को आयोजनामा साउन ११ देखि २६ सम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 
सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा हुन लागेको सांस्कृतिक तथा व्यापारिक महोत्सवमा खुल्ला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक सामानको प्रदर्शनी, सांस्कृतिक व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ता कपडा तथा भाँडाकुँडाको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव लगायत आकर्षण रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । 

be23542d-9d6a-4120-b27a-190c8e73240d-1721350807.jpg
महोत्सवमा साउन १८ र १९ गते तथा साउन २५ र २६ गते विशेष सांस्कृतिक कार्यक्रमको आयोजना हुने राष्ट्रिय संगीतकर्मी सङ्घ ललितपुरका अध्यक्ष सुवास महतले बताए । साउन १८ , १९ २५ र २६ गते का दिनमा मात्र महोत्सव मेलास्थलमा प्रवेश शुल्क लाग्ने अन्य दिनहरूमा निःशुल्क प्रवेश पाइने आयोजकले जानकारी दिएका छन् । 
१५ दिनसम्म चल्ने सांस्कृतिक तथा व्यापार महोत्सवमा ललितपुरको पर्यटकीय विकास आन्तरिक व्यापार लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजक दीपक दाहालले जानकारी दिए । उक्त महोत्सवमा महोत्सव अवधिभर १ लाख भन्दा बढी दर्शकहरूले अवलोकन तथा मनोरञ्जन लिने अनुमान गरिएको छ।
महोत्सवका बारेमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले धापाखेलका सम्पदा–संस्कृति पहिचानसहित स्थानीय उत्पादन प्रवद्र्धनका लागि आयोजित महोत्सव सफल बनाउनु पर्नेमा सबै टोल विकास समिति तथा महिला समूहहरूलाई आह्वान गरे ।  धापाखेलमा यस प्रकारको महोत्सव भएको यो पहिलो पटक हो यो महोत्सवलाई सफल पार्नु पर्दछ उनले भने । पत्रकार सम्मेलनमा २३ नं वडाका वडा सदस्य राजन मल्ल ठकुरीले महोत्सवलाई सफल पार्न वडा कार्यलय माहतहत विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिँदै महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए । 
स्थानीय स्तरको कृषि, प्राकृतिक, सांस्कृतिक, धार्मिक समूहद्धारा स्थानीय तहबाट लिएका सीपमूलक तालिमबाट उत्पादित सामग्री, हस्तकलाका सामानहरु तथा महिला समूहबाट उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसारसहित बजारीकरणमा सघाउन महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।  कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. २३ का ज्येष्ठ नागरिकका पक्षमा कलम चलाउँदै आएका धर्मलाल महर्जनले महोत्सवलाई सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी हरि दाहालले पनि वडा भित्र आयोजना हुने महोत्सव सफल पार्नु पर्नेमा जोड दिए । महोत्सवमा महानगर २३ नं. वडा अन्तर्गतका महिला समूहहरूलाई २० वटा स्टल निःशुल्क उपलब्ध गराइने छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार