‘डा.शेखरलाई सभापति बनाउन कोइराला परिवारबाटै प्रक्रिया शुरु भयो’

शुक्रबार, साउन ४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टीको संगठन निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका कोइराला परिवार एक भए कांग्रेस बलियो हुने बताएका छन् । शुक्रबार वालुवाटारस्थित डा.शेखर कोइरालाको सचिवालयमा नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिएपछि उनले कोइराला परिवारमा एकता शुरु भएको बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूहरुले कोइरालाहरु एकजुट बनाउनका लागि सुजाता कोइरालाबाट प्रक्रियाको सुरुवात भएको बताए । उनले भने,‘आज सुजाताजीले डा.शेखरकै सचिवालयमा आएर एकताको सन्देश दिनुभयो । डा.शेखरले यसअघि महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर पराजित हुनुभयो तर कोइराला परिवार एक भएको भए उहाँ विजयी हुनुहुन्थ्यो । अब तीन कोइराला मात्र होइन कोइरालाजस्तै हजारौं कार्यकर्तालाई एकै ठाउँमा हुनेछौं । आजबाट प्रक्रिया सुरु भएको छ । १५औं महाधिवेशनमा डा.शेखरलाई सभापतिमा विजयी गराएर कांग्रेस बलियो बनाउने अभियान प्रारम्भ भयो ।’ शुक्रबार नेतृ कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा डा.शेखरलाई समर्थन गर्ने घोषणा गरेपछि डा.पोखरेल एकताको महाधिवेशन प्रारम्भ भएको बताएका हुन् । त्यस्तै कांग्रेसका पूर्व मुख्यसचिव एवम् पूर्वसांसद ऋषिकेश तिवारीले डा.शेखरकै पहलमा सुजाता कोइराला हप्तामा एक पटक सचिवालयमा आएर कार्यकर्तासँग अन्तरक्रिया गर्ने निर्णय भएको बताए । ‘यतिबेला कोइराला परिवारमा एकता आवश्यक छ । मुलुक अहिले अप्ठयारो अवस्थामा छ । शेखर कोइरालाले पहिला हामी काङ्ग्रेसभित्रै मिल्नुपर्छ भन्नु भएबमोजिम आज सुजाता कोइराला आउनुभयो । उहाँले हप्तामा एकपटक आउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो आवश्यकता पनि हो । देश, प्रजातन्त्र र विकासका लागि कोइरालालगायत सयौं कार्यकर्ताहरुबीचमा मेलमिलाप आवश्यक छ,’ उनले भने । नेतृ कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिंदै आगामी महाधिवेशनमा डा.शेखरको नेतृत्व स्वीकार्ने बताएकी थिइन् । सो अवसरमा डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताइन् । भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाए । आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौं कार्यकर्ता डा.कोइरालाको सचिवालयमा पुगेका थिए । १४औं महाधिवेशनमा तीनतिर विभाजित भएका डा.शेखर, डा.शंशाक र सुजताबीच १५औं महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट पहल सुरु भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार