‘नेपालले एक अनुभवी पर्यटन व्यवसायी गुमायो’

शनिबार, साउन ५, २०८१

काठमाडौं । सरकारका मन्त्री एवम विभिन्न दलका नेताहरुले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरे । शनिबार बिहान द्वारिकाज होटल पुगेका पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्याएको योगदानको प्रशंसा गर्दै उनको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए । उनले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरे । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले श्रेष्‍ठको निधनबाट नेपालले एक अनुभवी पर्यटन व्यवसायी गुमाएको बताएका छन् । उनले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्  । काग्रैस नेता अर्जुन नरसिंह केसीले पनि श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्,‘निरन्तर संघर्ष गरेर अनेक आरोहअवरोह पार गर्दै आजको होटल द्वारिकाजकी संस्थापिका तथा पर्यटन व्यवसाय क्षेत्रको अग्रणी महिला उद्यमी, सामाजिक कार्यमा जीवन्त र सक्रिय अम्बिका श्रेष्ठको निधनको खबरले अत्यन्त दुखित छु ।’ श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्व श्रेष्ठको शनिबार पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिदैछ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार