कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिए : गगन थापा

शनिबार, साउन ५, २०८१

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन् । ‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरु अरु तिर चियाउन जान थाले । एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो । एमालेसँगको गठबन्धनमा रहदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो । दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो । प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन् थियो होला,’ उनले भने । माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार संचालन गरोस भन्ने आफूहरुको इच्छा रहेको भएपनि परिस्थिति बदलिएको उनको धारणा थियो । ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौं । तर परिस्थिति बदलियो,’ उनले भने । फरक प्रसंगमा उनले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली काङ्ग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गरे । अब दुई वर्ष अहिलेको सरकार चल्छ । त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ । यस बीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार