सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रिएका छन् । बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किन थालेका हुन् । ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ । बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोवाइल एप्लिकेसनबाट सम्पर्क गर्न समस्या भइरहेको बताइन्छ । बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं र काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट नेपाल आउन थालेका हुन् । आइतबार हवाइमार्गबाट १७ विद्यार्थी नेपाल आइपुगेका छन् । (तस्वीर ः मोहनकाजी)