कांग्रेस बदनाम हुनथाल्यो, बीपीको सिद्धान्त आत्मसाथ गर्न छाडियो : सुजाता कोइराला

शनिबार, साउन १२, २०८१

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरुले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन् । कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । शनिबार काठमाडौंमा आयोजित ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरुले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरुले बद्नाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बद्नाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्,‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ ।  मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’  सिद्धान्तबिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा. शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । ‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’उनको भनाइ थियो । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा.शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा डा.शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार