जहाज पुरानो भएकाले दुर्घटना भयो भन्ने भाष्य गलत छ : क्याप्टेन गुरुङ

शनिबार, साउन १२, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठित समितिका सदस्य क्याप्टेन ओम गुरुङले नेपालमा हुने गरेका हवाइजहाज दुर्घट्नामा व्यवस्थापकीय पक्ष बढी जिम्मेवार हुनुपर्ने औंल्याएका छन् । हालै त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ यात्रुको मृत्यु भएपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले एयरलाइन्स कम्पनीको व्यवस्थापकीय क्षमताको अध्ययन हुनुपर्ने बताए । उनले जहाजका चालक दलका सदस्यलाई मात्र दोष दिएर कोहीपनि उम्कन नसक्ने साथै नियामक निकाय र कम्पनीको भूमिका अझ बढी जिम्मेवार हुने औंल्याएका हुन् । तीन दशक हवाइ उडानमा काम गरिसकेका क्याप्टेन गुरुङले घट्ना भइसकेपछि मात्र कम्पनी र नियामक निकायको कमजोरी औंल्याउनु उचित नहुने भन्दै सरकारले सिंगो हवाइ क्षेत्रको सुधारका लागि प्रशस्त काम गर्नुपर्ने सुझाव दिए । ‘घटना भइसकेपछि एयरलाइन्स व्यवस्थापनको कुरा आउँछ । एउटा व्यापारीले एयरलाइन्स कम्पनी खोल्योभने आफैं चेयरम्यान हुनु कत्तिको उपयुक्त हुन्छ ?  उसको भिजन के हो ? म्यानेजम्यान्ट क्षमता कस्तो छ, त्यो सबै हेर्नुपर्छ,’ उनले अगाडि भने, ‘कम्पनी भन्दा माथि जाने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)छ । क्यान नियामक निकाय हो । उसले हरेक एयरलाइन्सले ठिक अवस्थामा बनाएर चलाएको छ कि छैन् हेर्नुपर्छ । एकदमै ठूलो जिम्मेवारी क्यानको हुनेगर्छ । त्यसभन्दा माथि मन्त्रालय छ र सरकार छ । उसले नीति निर्माण ठिक गरेको छ कि छैन् भन्नेसम्म अध्ययन हुनुपर्छ ।’ यदि जहाजको व्यवस्थापन वा दुर्घटना न्यूनीकरणमा नीतिगत निर्णय भइसकेको भए त्यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने उनको भनाई छ । ‘निर्णय कार्यान्वय गर्नका लागि संरचनागत प्रणालीमा ढाल्नुपर्छ । अहिलेको समस्या के हो भने क्यान इयूको कालो सूचीमा परेको धेरै वर्ष भइसक्यो । क्यानलाई दुईवटा भागमा काम गर भनेको छ । एउटा नियमक निकाय अर्को सेवा प्रदायक निकायका रुपमा काम गर्न भनेको छ, यस विषयको पनि गहन अध्ययन हुनुपर्छ,’ क्याप्टेन गुरुङले भने । हवाइ उड्डयन सम्बन्धी विभिन्न कानुनहरु बन्ने क्रममा रहेकाले चाँडो अनुमोदन गरेर कार्यान्वयनमा ल्याउनुपर्ने उनको सुझाव छ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको सवालमा मात्र होइन विगतमा भएका भयानक दुर्घटनाका अवस्थालाई हेरेर हवाइ सुरक्षाको अवस्थाबारे विश्लेषण गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले हवाइ सुरक्षाको कुरा उठिरहेको छ । त्यसमा पाइलट एक जनाको मात्र कुरा गरेर हुँदैन् । सँगसँगै जोडिएको इन्जिनहरु, अन्य डिपार्टमेन्टहरु म्यानेजमेन्ट टीम अनि क्यान हुँदै सम्बन्धीत मन्त्रालयबाट एउटा स्पष्ट नीति आउनु जरुरी देखिन्छ,’ उनले भने,‘नीति वा नियम पालना गर्नु चाहीं सबैको दायित्व हो ।’ जहाज दुर्घटना भइसकेपछि जहाज पूरानो थियो र दुर्घटना भयो भन्ने भाष्य सिर्जना गरेर कोही जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ छ । ‘जहाज पूरानो भयो भन्नु जायज होला तर नयाँ जहाजचाँही दुर्घट्ना नभएको भन्ने त छैन् नी । पुराना जहाज भएर दुर्घटना बढी हुने र नयाँ भएर कम हुने भन्ने हुँदैन् । त्यो एउटा भाष्य निर्माण गरिएको छ । जहाजलाई कतिसम्मको टाइट फ्रेमवर्कभित्र राखिएको छ, मेन्टिनेन्स कुन रुपमा भइरहेको छ त्यो मुख्य कुरा हो,’ उनले भने । जहाजको अवस्थाका बारेमा क्यानले कुन रुपमा हेरेको छ, मापदण्ड पालना गरे नगरेको कतिको हेरेको छ भन्ने कुराले पनि जहाजको अवस्था निर्धारण गर्ने क्याप्टेन गुरुङको भनाइ छ । ‘म त के भन्छु भने जहाज पूरानो हुँदैमा फरक पर्ने होइन, त्यसको सर्भिस लाइफहरु हुन्छ । कुनै घण्टाको हिसाबले कुनै उडानको हिसाबले तोकिदिएको हुन्छ । गाडी जस्तो गुड्नेसम्म गुडाउने विग्रिएपछि वर्कसप लैजाने भन्ने हुँदैन । निर्धारित समयपछि केही नभएपनि जहाज जाँच गराइन्छ,’ उनले सुनाए । ‘जहाजका सवालमा चेन अफ इफेक्ट समस्या हो । तलबाट माथि जाने होइन कि माथिबाट तल आउने हो त्यो प्रमुख कुरा हो । एउटा पाइलट र इन्जिनियरलाई दोष दिएर हुँदैन,’ उनले भने । पटक पटक बदलिरहने सरकारका कारण नीतिगत तहमा असर परेको उनको भनाइ छ । नीतिगत तहमा समस्या हुँदा कतिपय मापदण्डहरु निर्माण हुन नसकेको उनको बुझाइ छ । ‘एभिएसन भन्ने एकदमै धेरै सेन्सेटिभ क्षेत्र हो । त्यसैले यो क्षेत्रलाई बनाउन सक्यो भने अरु पनि बनाउन सकिन्छ । पटक पटक मन्त्रीहरु फेरिहने प्रबृत्तिले समग्र क्षेत्र सुधार गर्न सकिदैन्,क्याप्टेन गुरुङको भनाइ थियो । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार