बाँझो जग्गामा कटहरबाट राम्रो आम्दानी

आइतबार, साउन १३, २०८१

रामेछाप । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल खेती गर्ने हो भने पनि राम्रो कमाइको सम्भावना छ ।  खाँडादेवी गाउँपालिकाको तल्लो भेगमा रुख कटहर खेतीको राम्रो सम्भावना देखिएको छ । सो गाउँपालिका गागल, पिङखुरी, पकरबास, माकादुम, भिरपानी, मझुवालगायतका तल्लो भेगमा कटहर राम्रो हुने गरेको छ ।  एउटा वयस्क बोटमा सयौँ कटहर फल्ने भएकाले यसबाट स्थानीयले राम्रो आम्दानी गर्नसक्ने देखिएको छ । कलिलोमा तरकारी र पाकेपछि भित्रको कोया खान मिल्ने कटहरलाई बहुउपयोगी फलको रूपमा लिइन्छ ।  बारीका काल्ना तथा खाली जग्गामा कटहर लगाउने हो भने किसानले राम्रो आम्दानी गर्न सक्ने देखिएको छ ।

एक पटक लगाएपछि वर्षै आम्दानी दिने कटहर खेतीको लागि धेरै मेहनत पनि गर्नु नपर्ने किसानहरू बताउँछन् । ‘रुख हुर्किएपछि जग्गाको खन–जोत र सामान्य मल हालिदिने बाहेक अरू केही गर्नुपर्दैन’, स्थानीय किसान भन्छन् ।  यसैलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिका र सो गाउँपालिकाका विभिन्न वडाले कटहर लगाउन चाहने किसानलाई कटहरका बिरुवा वितरण गरिरहेका छन् । फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न स्थानीय तहका वडासम्मले प्रयास गरिरहेका छन् ।  बाँझो जग्गामा बिरुवा लगाएर स्थानीयले आम्दानी गर्न सकुन् भनेर फलफूलका रुख रोप्ने अभियान नै गाउँपालिकाले चलाएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । ‘व्यावसायिक रूपमा गर्ने हो भने जेमा पनि पैसा छ, तर दुःख भने गर्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार