शब्दपाटीमा नयाँ श्रृङ्खला ‘सफलताको कथा’ को सुरुवात 

सुनाकोठीमा एकल महिलाको उदाहरणिय कार्य

छहारी कृषि एकल महिला फार्मबाट व्यवसायिक रुपमा तरकारी उत्पादन
मंगलबार, साउन १५, २०८१

बालकुमारी चउर (ललितपुर) । एकल महिला–पुरुष भन्नासाथ हामी अनायसै भनिदिन्छौं ‘बिचारा’ । तर उनीहरू ‘बिचारा’ होइनन् । उनीहरूलाई मात्रै चाहिएको छ परिवार तथा समाजको माया । परिवार तथा समाजको माया पाएका एकल–महिला पुरुषले धेरै राम्रा कामको सुरुवात गरी सफलता हासिल पनि गरेका छन् । एकल–महिला पुरुषको सफलताको कथा हामीले धेरै सुन्दै आएका छौं । शब्दपाटी डिजिटल मिडियाले यस्तै सफलताको कथालाई प्राथमिकता दिँदै प्रकाशन–प्रशारण गर्न सुरु गरेको छ । यो श्रृङखलाको पहिलो अंकमा आज हामीले हाम्रा पाठक–स्रोताहरू समक्ष छहारी कृषि एकल महिला फार्मको चर्चा गर्नेछौं ।   ‘सफलताको कथा’ को यो श्रृङ्खलामा छहारी कृषि एकल महिला फार्म परेको छ । यो कृषि फार्म ललितपुर महानगरपालिका २७ नं. वडास्थित बालकुमारी चउरको उत्तरतर्फ रहेको छ । बालकुमारी गुठीको १८ रोपनी जग्गा भाडामा लिएर छहारी कृषि एकल महिला फार्मले तीन वर्षअघि देखि यहाँ बेमौसमी तरकारी उत्पादन सुरु गरेको हो । फार्म सुरु भएको तेस्रो वर्ष अर्थात यो वर्षदेखि उत्पादित तरकारी बिक्रीका लागि तयार भएका छन् । अहिले कृषि फार्ममा गोलभेडा, धनियाँ, पालुङगो, रायोको सागलगायतका बेमौसमि तरकारी उत्पादन भएका छन । फार्मले उत्पादन गरेका तरकारी स्थानीय स्तरमा नै बिक्री वितरण भइरहेको छहारी कृषि एकल महिला फार्मकी अध्यक्ष सविता महर्जनले जानकारी दिइन् ।  एकल महिला समूहले सुरु गरेको फार्मको सफलताको कथा नजिकबाट नियाल्न ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन गत शुक्रबार बालकुमारी चउर आए । उनीसँगै महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा सदस्यद्धय निरोज महर्जन तथा श्याकृष्ण महर्जन पनि फार्ममा पुगेका थिए । एकल महिलाको सफलताको कथा नियाल्न मानव अधिकारका लागि महिला एकल समूहकी केन्द्रीय अध्यक्ष कविता पाण्डे, केन्द्रीय सदस्य शान्ति महर्जन तथा महिला महासंघकी सचिव शोभा बिसी पनि फार्म आएकी थिइन् ।    

451491304_537189035419278_6142236905219144254_n-1722328501.jpg
‘फार्मबाट उत्पादित तरकारी बिक्री प्रवद्र्धनका लागि स्थानीय सरकारले सहयोग गरिरहेको छ’, फार्मकी अध्यक्ष एवम् मानव अधिकारका लागि महिला एकल समूहकी केन्द्रीय सदस्य सविता महर्जनले भनिन्, ‘फार्मबाट उत्पादन भएका तरकारीको बजारीकरणको समस्या छ । यो समस्या समाधानमा स्थानीय सरकारले सहयोग गरिदेयोस् भन्ने हाम्रो चाहना हो ।’ ‘उत्पादित तरकारी बिक्री वितरणका लागि स्थानीय बासिन्दाले सहयोग गर्दै आउनु भएको छ तर हामीले सोचे जस्तो बजारमूल्य पाएका छैनौं’ उनले भनिन् ।  SOD नेपाल संस्थाले छहारी फार्मलाई आधुनिक स्टिल टनेल बनाउन ऋण सहयोग गरेको हो । एकल महिला समूह तथा गृह श्रमिक महिला समूहमा आवद्ध २५ जना महिलाबाट सुरु भएको यो फार्ममा अहिले ३६ जना महिला जोडिएका छन् । छहारी फार्ममा हालसम्म करिब ८० लाख बराबरको लगानी भइसकेको छ । तरकारी खेतीका लागि फार्मले आवश्यक पूर्वाधार जस्तै कम्पोस्ट मल बनाउने स्थल, सिँचाईका लागि पानी ट्याक्की तथा डिप बोरिङ, सोलार प्यानल जस्ता पूर्वाधार तयार गरिसकेको छ ।  एकल महिलाहरूले आफ्नै महानगरपालिका भित्र ठूलो मात्रामा तरकारी फार्म सुरु गरेको थाहा पाएपछि महानगर प्रमुख चिरीबाबु महर्जन समय निकालेरै फार्म अवलोकनका लागि आएका थिए । उनले एकल महिला समूहले सुरु गरेको फार्मको प्राय सबै क्षेत्रको अवलोकन गरी फार्म सञ्चालकहरूसँग तरकारीको उत्पादन तथा बजारीकरणको विषयमा जिज्ञासा राखेका थिए ।  अवलोकनपछि फार्मका अध्यक्ष सविता महर्जनलाई पुल्चोक स्थित महानगरपालिकाको कार्यालय आउन पनि मेयर महर्जनले आग्रह गरेका छन् ।  फार्मको तरकारी खेतीलाई कृषि प्राविधिक प्रमोद डंगोलले स्वयम्सेवकका रुपमा सहयोग गरिरहेका छन् ।  ‘साना–तिना कामका लागि पनि युवा विदेशिँदा खेतबारी बाँझो भइरहेको नमिठो परिदृश्यलाई रोक्न प्रेरणा मिलोस भनेर एकल महिलाले तरकारी खेती सुरु गरेका हौं’ फार्मकी अध्यक्ष सविता महर्जनले भनिन्, ‘यो फार्ममा ६० वर्ष माथिका एकल महिला पनि सहभागी हुनुहुन्छ । फार्म एकल महिलालाई खुसी बनाउने छहारी बनेको छ ।’ ‘घरका सदस्य बाहिर जाँदा घरमै बसेर गुथ्थिनु पर्ने एकल महिलाको अवस्थाको अन्त्य यो फार्मले गरेको छ’, फार्मकी अध्यक्ष महर्जनले भनिन्, ‘फार्ममा आएर आधुनिक प्रविधिको प्रयोग गरी खेती–किसानी गर्दा परम्परागत रुपमा गरिने खेती किसानीको तुलनामा एकल महिलाको क्षमतामा १० प्रतिशतले बडेको हामीले अनुभव गरेका छौं ।’ ‘फार्मको माटोमा काम गर्न एकल महिलाको स्वास्थ्य राम्रो भएको छ’ उनले भनिन् ।    

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार