सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमि :  सूर्य थापा 

मंगलबार, साउन १५, २०८१

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको टिप्पणी गरेका छन् ।  सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकपश्चात उनले सहकारी समस्याको मुख्य कारण संयन्त्र निर्माण गर्ने गरी कानून निमार्ण नहुनुको साथै बचतकर्ताहरूले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनि भएको बताए । उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानून कार्यान्वयनमा कमि भएको छ । कानून आवश्यकता अनुसारको संयन्त्र निमार्ण गर्ने गरि बनेका छैनन् । र बचतकर्ताहरूले पनि कुन सहकारी को सञ्चालक भन्ने कुरा नबुझि पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ ।’  उनले बैठकमा उपस्थित प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्ने बताए । 

sahakari--1722347238.jpg
उनले भने, ‘आज आउनु भएको प्रतिनिधिहरुको कुरा सुन्दा गरिबी निवारणमा सहकारी भूमिका महत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्छ । सहकारीलाई उत्पादनमा सेवा प्रवाहमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ ।’  आजको बैठकमा देशभरबाट सुशासनमा चलेका सहकारीका प्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो । तर त्यस मध्य ३४ जनाको उपस्थिती रहेको थियो । 
यस्तै, सबैको सुझावहरु सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार गर्ने काम भएको पनि उनको भनाई छ ।  उनले भने, ‘सबैले आफ्नो कुरा राखेका छन् । सबैको सुझावहरू सुन्दा देशभर केही सहकारी मात्र बिग्रिएका छन् र धेरै सहकारीहरू राम्रो तरिकाले चलेका छन् । अर्बौ बचत तथा ऋण परिचालन गरेका हैसियतका सहकारीहरूको कुराहरू सुन्दा सहकारीको क्षेत्रमा नकारात्मक भाष्य सिर्जना गर्ने, धारणा बनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलत प्रचार भएको छ भन्ने कुराको अनुभूती हुनेगरि छलफल भएको छ ।’ 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार