यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

बुधबार, साउन १६, २०८१

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवनले गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान थापामगर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै  पहलमानले आफूहरुले हत्या नगरेको भएपनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सि पिएको भएपनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए । पहलमानले भने, ‘हामी साँझसँगै बसेर रक्सि पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरे गर्मी थियो । बाबुराम धेरै नै रक्सि खाएर रुममा गएको थियो । रुममा गएको तीन–चार घण्टापछि आफै मरेको हो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीन जना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लड मनि बुझाएर नेपाल फर्किएका हौं ।’ उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरु दुवईको जेलमा रहेको र उद्धार गर्न संसदमा समेत प्रश्न उठेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार