पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

बिहीबार, साउन १७, २०८१

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो । फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलवारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । दूतावासले मौखिक रुपमा ठाडो आदेश दिएर कार्यालयको दैनिक कामकारबाही र सेवा बन्द गर्न भनेपछि दूतावासको निर्देशनबमोजिम नै सेवा बन्द गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिए । दूतावासको ठाडो आदेश र अपमानजनक व्यबहारले दुखित तुल्याएको बताउँदै महावाणिज्यदूत हमालले नेपाल सरकारको प्रतिनिधिका रुपमा रहेर दश वर्षसम्म गरेको सेवा र योगदानको दूतावासले अवमूल्यन गरेको गुनासो गरे । “राजदूत नियुक्त भएपछि मेरो कार्यभार स्वतः सकिन्छ । कार्यालयको कामकारबाही र सेवा स्वभाविकरुपमा बन्द गर्नुपर्छ । त्यसमाथि मेरो कार्यअवधि पनि जुलाईमै सकिन्छ । कार्यालयको काम कार्वाही र सेवा बन्द गर्ने पनि त विधी, प्रकृया होला नि यसरी तत्काल बन्द गर्नु भन्ने आदेशले यहाँका हजारौं नेपालीले दुःख पाउने भएका छन् । उनीहरुका कागजी कामहरु प्रभावित हुने भएका छन् । कागजी प्रकृयामा रहेका सेवाग्राहीलाई हामीले के जवाफ दिने,– हमालले चिन्ता व्यक्त गर्दै भने  ।

पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्दयता पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने महावाणिज्यदूतावासले भने जस्तो कामकारबाही र सेवा बन्द गर्न निर्देशन नदिइएको बताए । उनकाे कार्यअवधि सकिएका कारण कार्यवधि थपेर निरन्तरता दिनका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको राजदूत भट्टराईले बताए । ‘कार्यवधि सकिएका कारण कतिपय काममा कानूनी समस्या आइनपरोस् भन्नका लागि र उनले गरेकाे योगदानको सम्मानका लागि समन्वय र सहजीकरण गर्न भनिएको हो,’–राजदूत भटराईले भने । वाणिज्य दूतावासको सेवा बन्द भएसँगै पोर्चुगलमा रहेका नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । सोमबार मात्रै सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो । सरकारले सन् २०१४ मा हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा उहाँलाई महावाणिज्यदूतमा पदोन्नतिसमेत गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार