निलम्बनको पत्र आयोगमा बुझाएपछि डा.मुकुल ढकालले रवि लामिछानेमाथि लगाए गम्भीर आरोप

रास्वपाले आयोगलाई दियो मुकुल ढकाललाई पदमुक्त गरेको जानकारी
शुक्रबार, साउन १८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री पदबाट निलम्बन गरेको पत्र आयोगमा बुझाएपछि डा.मुकुल ढकालले रवि लामिछानेमाथि गम्भीर प्रकृतिको आरोप लगाउँदै स्पष्टीकरण सार्वजनिक गरेका छन् । आज सामाजिक सञ्जालमार्फ डा.ढकालले सभापति रवि लामाछिाने क्लबबाट रास्वपा पार्टीमा रुपान्तरण गर्नुपर्ने भनाईसहित आफ्नो निलम्बन गलत भएको सावित गर्न खोजेका छन् । 
उनले पार्टीका सदस्य तथा शुभचिन्तकलाई सम्बोधन गर्दै लेखेको विवरणमा ‘पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरेको’ उल्लेख गरेका छन् । 
प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू, 
राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागी मैले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गर्‍यो । मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागी पुगेको छु । प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने, देउवासँग प्रधानमन्त्रीका लागी भित्रभित्रै बार्गेनिङ आफू गर्ने तर उल्टै काङ्ग्रेस–एमाले–माओवादीबाट परिचालित भनेर आरोप चैँ ममाथि लगाएका छन् । अझ केही झुन्डहरू परिचालित गरेर मलाई आफैँले स्थापना गरेको पार्टीविरुद्ध परिचालित भयो भन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् । म लक्ष्मण बनेर आफ्नो कर्तव्य पुरा गरिरहेको थिए, तर उनी आफैँ रावण बने र मलाई उल्टै विभीषण बनेको आरोप लगाए ।’ डा. ढकालले लेखेका छन् । 
 
‘प्रिय साथीहरू, ममाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएकै छ । प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु । सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन । कति पय कुराहरू त समय क्रमसँगै प्रमाणित हुँदै गएका छन्, कति पय हुँदै जाने छन् । साथीहरू, पार्टीमा मैले तल उल्लिखित मुलत तीन कुराहरूका लागी सङ्घर्ष सुरु गरेको हो । यी तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ । क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्छ ।’ उनले लेखेको छन् 
डा. ढकालले रास्वपालाई सुझाव दिँदै बुँदागत सुझाव पनि दिएका छन् । राष्ट्रियता, पारदर्शीता र जवाफदेहिता, वैकल्पिक शक्तिको एकीकरण शीषर्कमा उनले सुझाव पनि दिएका छन् । 
उनको बुँदागत सुझाव यस्तो छ 
१.राष्ट्रियता
कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानी करण गरेर पटक पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ ।
२. पारदर्शिता र जबाफदेहिता
पार्टीको आर्थिक हिसाब किताब पारदर्शी हुनपर्छ । त्यस्तै, पार्टीको निर्णय प्रक्रियालाई पारदर्शी र जबाफदेही बनाउनपर्छ । पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई उहाँ पनि आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जबाफदेही हुनपर्छ । पार्टीमा कोही पनि प्रश्न माथि छैन भन्ने थिति बसाल्नपर्छ । 
३. वैकल्पिक शक्तिको एकीकरण
हिजोका दिनमा हात उठाएका आधारमा केही साथीहरू जोडिए । कति पय साथीहरू छुट्नु भयो । अब सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्छ । समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिन्छ ।  २०८४ को चुनावलाई लक्ष्यमा राखी पुराना राजनीतिक शक्तिहरू विरुद्ध सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरू एक भई नेपाली जनताको सुशासन र विकासको आकांक्षा पूरा गर्नका लागी पारदर्शिता , जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनपर्छ ।
रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझायो । 
यसअघि रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझाएको छ। रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको सार्वजनिक भएको छ । 
गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाले असार २५ गते बसेको केन्द्रीय समितिको बैठकबाट अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको थियो ।
रास्वपाले आयोगलाई बिहीबार केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिको विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ ।
एक महिना पुग्नुअगावै विवरण हेरफेरको जानकारी आयोगलाई विधिवत् रूपमा बुझाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी बताए ।
रास्वपाले महामन्त्री पद रिक्त भएपछि कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता एवं सांसद मनीष झालाई दिएको छ । ढकालले भने आफूलाई पदमुक्त गर्ने पार्टीको निर्णय अवैधानिक दाबी गरी उक्त विवरण अद्यावधिक नगर्न यसअघि नै आयोगलाई निवेदन गरिसकेका छन् ।

Mukul-1722567969.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार