ललितपुर महानगरमा एन्टिजेन परीक्षण सुरु

समुदायलाई सुरक्षित बनाउन एन्टिजेन परीक्षणले सहयोग गर्ने
आइतबार, जेठ २३, २०७८

ललितपुर। ललितपुर महानगरपालिकाले आइतबारदेखि एन्टिजेन विधिमार्फत कोरोना परीक्षण सुरु गरेको छ । आइतबार वडा न.३, ४ र २०मा यो परीक्षण गरिएको थियो । असार ३ गते सम्म संचालन हुने यो परीक्षणमा कोभिडको शंका लागेका महानगरवासीलाई सहभागी हुन महानगरप्रमुख चिरीबाबु महर्जनले अनुरोध गरे । यो परीक्षणले समुदायलाई सुरक्षित राख्ने उनले बताए । उपप्रमुख गीता सत्यालले परिवार टोल र आफ्नो समुदायलाई सुरक्षित बनाउन एन्टिजेन परीक्षण गराउन नगरवासीलाई अनुरोध गरिन् । संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका वा कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुमा यो परीक्षण गरिएको हो । १० दिनभित्र १५ हजारको एन्टिजेन परीक्षण गर्ने लक्ष महानगरले राखेको छ  । महानगरपालिकाको सिआइसिटी समूहले वडासँग समन्वय गरी परीक्षण गरेको हो । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकाले आवश्यकता अनुसार व्यवस्था गर्ने बताए । कोभिड फोकल पर्सन देवी थापा गुरुङले महानगरको २९वटै वडामा परीक्षण गर्ने बताइन् । परीक्षणका लागि आएकाहरुमा स्वास्थ्य सर्तकता वृद्धि भएको बताइन् । वडा नं ३का वडा अध्यक्ष श्रीगोपाल महर्जन, ४ वडाका अध्यक्ष नारायण केसी र वडा नं २०का अध्यक्ष चन्द्र महर्जनले समुदायलाई कोरोना संक्रमणबाट जोगाउन यो परीक्षण सहयोगी हुने बताए । सोमबार १,२, ३ वडामा परीक्षण गरिनेछ  । त्यसैगरी मंगलबार वडा नम्बर ३, ४ र १० मा , बुधबार २१, २२ र २५मा, बिहीबार १५, २३ र २४ , शुक्रवार १४,२६ र २७,  आइतबार  ५, ६ र १२, सोमबार ७, ८ र ९ वडामा परीक्षण हुनेछ । यसैगरी मंगलबार११, १६ , १९ । बुधबार  १८, १३ , १७ र बिहीबार २८ र २९मा एन्टिजेन परीक्षण गर्ने महानगरले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार