अलैंचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

शनिबार, साउन १९, २०८१

इलाम । इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ ।  प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ ।  देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैंची बिरुवा लगिएका छन् । केन्द्रले रामसाही र गोलसाही जातको अलैंचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए । अलैंची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैंचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ । ‘पछिल्लो समय अलैंची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अलैंची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ । गएको आर्थिक वर्ष ०८०।०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैंची खेती भएको जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार