सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं २४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नागदहमा लाग्ने नागपञ्चमी मेलाका लागि वडा कार्यालयको समन्वयमा आज शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नागपञ्चमीमा धापाखेलस्थित धार्मिक पर्यटकीय स्थल नागदहमा भव्य मेला लाग्ने गर्दछ । यस वर्ष साउन २५ गते नागपञ्चमी परेको छ । ललितपुर महानगरपालिका २४ नं. वडाको सहयोगमा नागदह संरक्षण तथा क्षेत्र सुधार समितको आयोजनामा भएको उक्त सरसफाई कार्यक्रमको शुभारम्भ महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गर्नुभएको थियो । सरसफाई कार्यक्रममा वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडा सदस्यहरू इन्द्रा श्रीश, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, वडाका सल्लाहकार पुरुषोत्तम पौडेल, नागदह संरक्षण तथा क्षेत्र सुधार समितका अध्यक्ष लव पौडेल, सचिव महेश गिरी, पदाधिकारी तथा सदस्य, श्रृजनशील वातावरण संरक्षण केन्द्रका प्रतिनिधि तथा कर्मचारी, महिला समूहका प्रतिनिधि, समाजसेवीसहित ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएर नागदह परिसरमा सरफाइ गरिएको हो । सरसफाईका क्रममा नागदहबाट जलकुम्भी निकालिएको छ । बृहत नागदह सरसफाइ कार्यक्रम नाम दिएर सुरु गरिएको आजको सरसफाइ कार्यक्रममा ९ टन फोहोर संकलन गरिएको थियो । यस पटक नागपञ्चमी मेला नागदह संरक्षण तथा क्षेत्र सुधार समितिमार्फत मेला व्यवस्थापन गरिने वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । नागदह संरक्षण तथा क्षेत्र सुधार समितिको अगुवाइमा सिर्जनशील वातावरण केन्द्रले २४ गतेसम्म निरन्तर नागदह परिसरमा सरसफाइ कार्यक्रम जारी राख्ने सिर्जनशीप सेवा प्रा.लिका संस्थापक सहदेव राउतले जानकारी दिनुभयाे ।
नागदहमा मेला नागपञ्चमीको दिन काठमाडौं नक्सालको नागपोखरी, नागदह तथा सिद्धपोखरीमा ठूलाे मेला लाग्दछ । नागपोखरीसहित कर्कोटक नागको बासस्थानका रूपमा परिचित काठमाडौं टौदह, बासुकी नागको बासस्थान ललितपुर धापाखेलस्थित नागदह, भक्तपुरस्थित सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लाग्ने गर्छ । ललितपुर धापाखेलस्थित नागदहमा स्नान गर्ने, जल चढाउने तथा नागकाे दर्शन गर्नेको नाग पञ्चमीका दिन घुइँचो लाग्ने गरेको छ । मेलामा धापाखेल, झरुवारासी, चापागाउँ, ठैव, हरिसिद्धि, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।