सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं २४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नागदहमा लाग्ने नागपञ्चमी मेलाका लागि वडा कार्यालयको समन्वयमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नागपञ्चमीमा धापाखेलस्थित धार्मिक पर्यटकीय स्थल नागदहमा भव्य मेला लाग्ने गर्दछ । यस वर्ष साउन २५ गते नागपञ्चमी परेको छ । ललितपुर महानगरपालिका २४ नं. वडाको सहयोगमा नागदह संरक्षण तथा क्षेत्र सुधार समितको आयोजनामा भएको उक्त सरसफाई कार्यक्रमको महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले शुभारम्भ गर्नुभयो । सरसफाई कार्यक्रममा वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडा सदस्यहरू इन्द्रा श्रीश, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, वडाका सल्लाहकार पुरुषोत्तम पौडेल, नागदह संरक्षण तथा क्षेत्र सुधार समितका अध्यक्ष लव पौडेल, समितिका पदाधिकारी र सदस्य, श्रृजनशील वातावरण संरक्षण केन्द्रका प्रतिनिधि तथा कर्मचारी, महिला समूहका प्रतिनिधि, समाजसेवीसहित ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएर नागदह परिसरमा सरफाइ गरिएको हो । सरसफाईका क्रममा नागदहबाट जलकुम्भी निकालिएको छ । बृहत नागदह सरसफाइ कार्यक्रम नाम दिएर सुरु गरिएको आजको सरसफाइ कार्यक्रममा ९ टन फोहोर संकलन गरिएको थियो । बृहत सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै महानगर उपप्रमुख बज्राचार्यले महानगरपालिकाले ग्रिन सिटी, क्लिन सिटीको अभियान सुरु गरेको बताउँदै प्राकृतिक रुपमा बनेको नागदहलाई पनि महानगरको अभियानमा जोड्न स्थानीय बासिसँग आग्रह गर्नुभयो । नागदहको सामिप्यमा बस्न पाउनु २४ नं. वडाका वडावासीको भाग्यको कुरा भएको बताउँदै यसको संरक्षणका लागि पनि स्थानीयवासी, वडा तथा महानगरको दायित्व भएको बताउनुभयो । नागदह सफाइको यो अभियान नागपञ्चमी मेलाका बेलामात्रै नभई हप्तामा एक पटक गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा लपुमनपा–२४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले नागपञ्चमीको सन्दर्भ पारेरमात्रै नागदहमा सरसफाई गरिने नभई अन्य बेला पनि नियमित रुपमा सरसफाइका कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले नवगठित नागदह संरक्षण तथा क्षेत्र सुधार समितिलाई नागदहको संरक्षणका लागि गर्ने कार्यका लागि आर्थिक, प्राविधिकसहितका सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो । नागदह संरक्षण तथा क्षेत्र सुधार समितिका अध्यक्ष लव पौडेलले सरसफाई कार्यक्रम सफल पार्न सहभागी हुनु भएका सबैलाई धन्यावाद दिनु भयो । यस पटक नागपञ्चमी मेला नागदह संरक्षण तथा क्षेत्र सुधार समितिमार्फत मेला व्यवस्थापन गरिने भएको छ । नागदह संरक्षण तथा क्षेत्र सुधार समितिको अगुवाइमा सिर्जनशील वातावरण केन्द्रले २४ गतेसम्म निरन्तर नागदह परिसरमा सरसफाइ कार्यक्रम जारी राख्ने सिर्जनशील सेवा प्रा.लिका संस्थापक सहदेव राउतले जानकारी दिनुभयो । शनिबार आयोजित वृहत सरसफाईकासहित नागदहको विकास र संरक्षणका लागि चालु आर्थिक वर्षमा धेरै कार्य गरिने वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिनुभयो ।
नागदहमा मेला नागपञ्चमीको दिन काठमाडौं नक्सालको नागपोखरी, नागदह तथा सिद्धपोखरीमा ठूलो मेला लाग्दछ । नागपोखरीसहित कर्कोटक नागको बासस्थानका रूपमा परिचित काठमाडौं टौदह, बासुकी नागको बासस्थान ललितपुर धापाखेलस्थित नागदह, भक्तपुरस्थित सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लाग्ने गर्छ । ललितपुर धापाखेलस्थित नागदहमा स्नान गर्ने, जल चढाउने तथा नागको दर्शन गर्नेको नाग पञ्चमीका दिन घुइँचो लाग्ने गरेको छ । मेलामा धापाखेल, झरुवारासी, चापागाउँ, ठैव, हरिसिद्धि, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।