सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बाङ्ग्लादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । बाङ्ग्लादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २,६०० नेपाली विद्यार्थीमध्ये करिब ४०० जना अझै बाङ्ग्लादेशमै रहेको ठानिएको छ । नेपाली दूतावाससँगको समन्वयमा २,००० जनाभन्दा धेरै नेपाली विद्यार्थीहरू विगत केही साताभित्र स्वदेश फर्किसकेको जनाइएको छ।ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीले बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिए । “यहाँ अब ४०० हाराहारीमा नेपाली विद्यार्थीहरू हुनुहुन्छ । त्यसमध्ये अधिकांश अस्पतालहरूमा इन्टर्नशिप गरिरहनुभएको छ । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ र नेपाल फर्किन चाहेको अवस्थामा दूतावाससँग सम्पर्क गर्न भनेका भनिएको छ,” राजदूत भण्डारीले भने । राजधानी ढाकासहित बाङ्ग्लादेशका अधिकांश ठाउँमा आइतवार साँझदेखि अनिश्चितकालीन कर्फ्यू जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बाङ्ग्लादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ । “आफ्नै तरिकाले नेपाल फर्किने वा बाहिर निस्किने नगर्न हामीले अनुरोध गरेका छौँ। नेपाल फर्किन चाहने जोकोहीलाई पनि दूतावासले सुरक्षित रूपमा नेपालसम्म पुग्ने प्रबन्ध मिलाउने छ,” राजदूतले भने ।
दूतावासले के भन्यो
यसैबीच ढाकास्थित नेपाली दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बाङ्ग्लादेशमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन भनेको छ । “सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,” दूतावासले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ । नेपाल फर्किन चाहने विद्यार्थी तथा अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरी “सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न” दूतावासले भनेको छ । दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयको लागि दुइटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ । दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन् । यसअघि नेपाली दूतावासले बाङ्ग्लादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई भारतको सडकमार्ग हुँदै नेपालको पूर्वी सीमा काकरभिट्टासम्म ल्याउने व्यवस्था गरेको थियो । केही नेपाली विद्यार्थी हवाईमार्गबाट पनि नेपाल फर्किएको अधिकारी, विद्यार्थी तथा तिनका अभिभावकले जानकारी दिएका थिए ।
बाङ्ग्लादेशमा सोमवार ब्रोडब्यान्ड इन्टरनेट केही घण्टा अवरुद्ध भएको भए पनि दिउँसोदेखि फेरि चल्न थालेको विवरण आएको छ। यसअघि आइतवारबाटै सामाजिक सञ्जाल र फोरजी सेवा अवरुद्ध भएका थिए । ढाकास्थित नेपाली राजदूतावासले बाङ्ग्लादेशमा रहेका विद्यार्थीको अवस्थाबारे विद्यार्थी स्वयं र कलेज तथा विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ । “उहाँहरू सुरक्षित हुनुहुन्छ। हामी उहाँहरू पढ्ने प्रत्येक कलेजसँग हामी सम्पर्कमा छौँ। यहाँको सरकार र अन्य निकायसँग पनि दूतावास निरन्तर सम्पर्कमा छ,” राजदूत भण्डारीले भने । बाङ्ग्लादेशमा रहेका नेपालीहरू तत्काल सुरक्षा जोखिममा नरहेका भए पनि सतर्क रहन भनिएको दूतावासले जनाएको छ ।
आफ्नै तरिकाले नेपाल फर्किने वा बाहिर निस्किने नगर्न हामीले अनुरोध गरेका छौँ। नेपाल फर्किन चाहने जोकोहीलाई पनि दूतावासले सुरक्षित रूपमा नेपालसम्म पुग्ने प्रबन्ध मिलाउने छ
बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा गत जुलाईमा भड्किएको हिंसापछि विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् । बाङ्ग्लादेशको सबैभन्दा माथिल्लो अदालतले आरक्षणको अधिकांश व्यवस्थालाई कटौती गर्न आदेश दिए पनि प्रदर्शन रोकिएको छैन। आइतवारबाट विद्यार्थीहरूको तारो सरकारतर्फ सोझिएको छ । आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्। आइतवारको प्रदर्शन हिंसात्मक हुँदा ९४ जनाको मृत्यु भएको विवरण समाचारसंस्था एएफपीले प्रकाशित गरेको छ ।
बाङ्ग्लादेशमा शिक्षण संस्था बन्द भएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका थिए
कर्फ्यू आदेशसँगै त्यहाँको सरकारले सोमवारबाट तीन दिन सार्वजनिक बिदा दिएको छ।अहिले त्यहाँको अवस्था थप चिन्ताजनक बनेको विवरणहरू आएका छन् । नेपालबाट अधिकांश विद्यार्थीहरू एमबीबीएस अध्ययन गर्न बाङ्ग्लादेशका विभिन्न सहरहरूमा पुग्ने गरेका छन् । त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बाङ्ग्लादेश पुग्ने गर्छन् । नेपालीहरू ढाकाबाहेक सिलेट, चिटगोङ्ग तथा रङ्गपुरसहितका सहरहरूमा पुग्ने गरेको अधिकारीहरूले बताएका छन् । बाङ्ग्लादेशबाट फर्किएका विद्यार्थीहरूले नेपालमा भर्ना हुने अवसर नपाएपछि बाङ्ग्लादेश अध्ययनका लागि पुगेको बताएका थिए ।