बंगलादेशमा सेनाले 'अन्तरिम सरकार गठन गर्ने'

प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिना 'भारत पुगिन्'
मंगलबार, साउन २२, २०८१

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको विवरण आएपछि सेनाप्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् । प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै चाँडै कुनै "समाधान" हासिल हुने पनि बताए ।  तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन । हसिनाको विमान सोमवार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरणहरू आएका छन् । उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन ।  कतिपय स्थानीय सञ्चारमाध्यमले हसिना लन्डन जान सक्ने विवरण प्रकाशन गरेका छन् । तर त्यसको पुष्टि भइसकेको छैन । यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै सेनाको हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएको बताएका थिए । समाचारसंस्था एफएपीसँग हसिनासँग निकट स्रोतले उक्त कुराको पुष्टि गरेको थियो । ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन् । जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन ।” सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।

किन छोडिन् देश

शेख हसिना

 

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले आफ्नी आमाले आइतवारदेखि राजीनामा दिने विषयमा विचार गरेको बताए । उनका अनुसार परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेकी हुन् । हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए । उनी अमेरिकामा छन् । उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत बीबीसीको न्यूजआवरसँग गरे । उनका अनुसार "आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको" देखेर हसिना दुःखित भएकी थिइन् । “मलाई लाग्छ, अब सकियो । मेरो परिवार र हामीले धेरै खेप्यौँ ।” उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, "उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो । उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो । यो गरिब देश थियो । आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो । उहाँ निकै दुःखित हुनुहुन्छ ।"

बङ्गबन्धु सङ्ग्रहालयमा आगजनी भएको छ

बङ्गबन्धु सङ्ग्रहालयमा आगजनी भएको छ

बाङ्ग्लादेशमा अहिले कस्तो छ अवस्था

हसिनाको पलायनपछि धेरैले हर्षोल्लास गरेको भए पनि देशका ठाउँठाउँमा लुटपाट र तोडफोड भएको विवरण आएको छ । साँझ ६:३० बजेतिर ढाकास्थित प्रहरी मुख्यालयमा सयौँको सङ्ख्यामा लट्ठी बोकेर आएका प्रदर्शनकारीहरूले आक्रमण गरेको बीबीसी बाङ्ग्लाका संवाददाताहरूले जनाएका छन् । उनीहरूले त्यहाँ तोडफोड पनि गरे । तर उक्त घटनामा कोही हताहत भने भएनन् । देशका अन्य भागमा पनि प्रहरी चौकीहरूमा आक्रमण भएको छ ।

केही प्रदर्शनकारीले लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ

केही प्रदर्शनकारीले लुटपाट गरेको दृश्य । 

टेलिभिजनमा प्रसारित दृश्यमा दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ । केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ । प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरू हसिना सत्ताबाट बाहिरिएपछि खुसी भएका थिए । राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए । समाचारसंस्था एएफपीले जनाएअनुसार सोमवार ढाकामा भएको हिंसामा कम्तीमा २० जनाको मृत्यु भयो । तर यो विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।  ढाकामा रहेका बीबीसी बाङ्ग्लाका संवाददाताहरूका अनुसार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमा तोडफोड गरेका छन् भने सहरमा ठाउँठाउँमा लुटपाट भएको छ । गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको छ । शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन् । बाङ्ग्लादेशको स्वतन्त्रतामा प्रमुख भूमिका निर्वाह गरेका शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए । त्यही समयमा उनको हत्या भएको थियो । प्रदर्शनकारीहरूले उनको सम्मानमा निर्माण गरिएको सङ्ग्रहालयको एउटा भागमा पनि आगो लगाइदिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू

प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू

सेनाको भूमिका कस्तो

ढाकामा सैनिक

 

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बाङ्ग्लादेशका सेनाप्रमुखले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन हुने घोषणा गरे । “हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,” उनले भने । हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् ।

बाङ्ग्लादेश

 

उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा "समाधान निस्किने" अपेक्षा गरेको बताए। उनले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको "न्यायको माग" सम्बोधन गरिने बताए । उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन्। उनले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरेको बताइएको छ । सोमवार बिहानैदेखि ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।

ढाकामा सडकमा गस्ती गरिरहेका सैनिक र प्रदर्शनकारीहरू हात मिलाउँदै

सडकमा गस्ती गरिरहेका सैनिक र प्रदर्शनकारीहरू हात मिलाउँदै

भारत किन संवेदनशील

देशको आर्थिक प्रगतिलाई नेतृत्व गरेकोमा जस पाउने गरेकी हसिनाले आफ्नो राजनीतिक जीवन एक प्रेरणादायी लोकतान्त्रिक नेत्रीका रूपमा सुरु गरेकी थिइन्। तर पछिल्ला वर्षहरूमा उनलाई निरङ्कुश बनेको र आफ्नो शासनमाथि विरोध गर्नेलाई दमन गरेको आरोप लागेको थियो । शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो । त्यति बेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए । उनीहरू निर्वासनमा बस्न भारत गए । सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बनेको थियो । शेख हसिना र उनको परिवारको भारतसँग ऐतिहासिक सम्बन्ध रहेको छ । भारतीय संस्थापनले उग्र इस्लामिस्ट समूहलाई सत्ताबाट अलग राख्ने मनसायले हसिनालाई समर्थन गर्दै आएको थियो । त्यसमाथि चीनसँगको क्षेत्रीय प्रतिस्पर्धाका कारण पनि दिल्लीले बाङ्ग्लादेशमा आफ्नो प्रभाव कायम राखिराख्न चाहन्छ । बङ्ग्लादेशको भावी नेतासँग सम्बन्ध राख्ने आकाङ्क्षाका कारण शेख हसिना बहिर्गमित भइरहँदा दिल्लीले सावधानीपूर्वक कदम चाल्न चाहेको छ ।

ढाका

 

सोमवार पनि हिंसा

सोमवार भएका हिंसात्मक झडपमा कम्तीमा ५६ जना मारिएको खबरहरू आएका छन् । ढाकानजिकै जात्राबारी क्षेत्रमा दिउँसो हिंसात्मक झडप भएको थियो। मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन । “विद्यार्थीदेखि रिक्साचालकहरू यदि सबै सहभागी भइरहे भने जनआन्दोलनको रूप लिन सक्छ,” सोमवारको प्रदर्शनतिर सङ्केत गर्दै राजनीतिक विश्लेषक मुबासर हसनले बीबीसीसँग दिउँसो भनेका थिए । “यो आफ्नो कार्यकालमा उनले भोगेको सबैभन्दा कडा चुनौती हो । यो कुनै राजनीतिक दलबाट माग गरिएको हैन। जनसङ्ख्याको ठूलो हिस्साबाट आइरहेको आवाज हो ।” अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था थियो । नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकालेका थिए । त्यसलाई "ढाकासम्मको लामो मार्च" भनिएको थियो ।

ढाकामा आगजनी भएको स्थान

बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले दिउँसो सार्वजनिक गरेको थियो। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ । एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा उक्त क्षति भएको थियो । आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ । आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन । स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो । गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ । त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो । तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन: कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन् । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो ।

शेख हसिना को हुन्

शेख हसिना

 

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिएका थिए । विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन् । सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो । शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।–बीबीसी

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार