एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि

बुधबार, साउन २३, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।  आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबै भन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् ।  यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा  सहभागी हुन फारम भरेका छन् । एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो । परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार