नाग पूजा गरी नागपञ्चमी मनाइँदै

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ। यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ । त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्‍ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले बताए । काठमाडौंका नागपोखरी र टौदह, ललितपुरको धापाखेलस्थित नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेष रुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार