नागपञ्चमीको अवसरमा धापाखेलस्थित नागदहमा दर्शनार्थीको घुइँचो (भिडियो)

शुक्रबार, साउन २५, २०८१

धापाखेल (ललितपुर) ।  हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ । यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ । त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ  ।
काठमाडौंका नागपोखरी र टौदह, ललितपुर धापाखेलस्थित नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीका अवसरमा ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा आज मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यहाँ नागको पूजा गर्न भक्तजनको मेला लाग्ने गर्छ । नागदह बासुकी नागको वासास्थानका रुपमा परिचित छ ।  नागपञ्चमीको अवसरमा नागदहमा बिहानैदेखि भव्य मेला लागेको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोे मन्दिरका पुजारीले जानकारी दिएका छन् ।   
पूजाका लागि आवश्यक पर्ने सामग्री लिएर बिहानैदेखि लामबद्ध रुपमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । दहको छेउमै नागको प्रतीकका रुपमा नागको मूर्ति स्थापना गरिएको छ । नागपञ्चमीका दिन नाग पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहेको छ । 
ललितपुर महानगरपालिका २४ नं. वडाको सहयोगमा नागदह संरक्षण तथा क्षेत्र सुधार समितले मेला व्यवस्थापन गरेको छ । नागदहका नागको पूजा तथा दर्शनका लागि संघीय सांसद डा.तोसिमा कार्की, बागमती प्रदेश सभाका सांसद रघुनाथ महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुर प्रहरी प्रमुख, सशस्त प्रहरी बल प्रमुख, महानगरपालिका कार्यकारी अधिकृतसहित विभिन्न विभागका प्रमुख, वडा नं २४ का वडाअध्यक्षसहित निर्वाचित जनप्रतितिनिधि, विभिन्न दलका नेताहरू, समाजसेवी तथा ठूलो संख्यामा सर्वसाधारणहरूले नागको दर्शन तथा पूजा आजा गरेका छन् । नागदह अवलोकन तथा दर्शनका लागि आएकी संघीय सांसद तोसिमा कार्कीले नागदहलाई आकर्षित र व्यवस्थित बनाउनु पर्ने बताइन् । नागदह अवलोकन तथा दर्शनका लागि आएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले डिपिआर आएपछि नागदहलाई व्यवस्थित बनाउने प्रतिवद्धता जनाए । ललितपुर महानगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले वडा कार्यालय तथा बाह्य सहयोगमार्फत नागदहलाई व्यवस्थित गर्ने कार्य भइरहेपनि महानगरपालिकाबाट बजेट विनियोजन नहुँद दुखद पक्ष भएको बताए । नागदह संरक्षण तथा क्षेत्र सुधार समितका अध्यक्ष लव पौडेलले नागदहलाई साच्चिकै  सुन्दर र आकर्षक बनाउन आफूहरू लागि रहेको बताए । नागदह संरक्षण तथा क्षेत्र सुधार समितिका सचिव महेश गिरीले दर्शनार्थीको घुँइचो अघिल्ला वर्षहरूमा झै यस वर्ष पनि उत्साहजनक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार