सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिकाले आफ्नै लगानीमा वडा नं २४ धापाखेल र वडा नं. २७ सुनाकोठी वखाटलाई जोड्ने महादेव खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गर्ने भएको छ । उक्त पुल निर्माणपछि २४ नं. वडा कार्यालय रहेको तीनकुने पोखरी दानघाट टोलबाट आरोलो हुँदै सुनाकोठी निस्कन सहज हुनेछ । यो स्थानमा पुल नहुँदा सवारी साधानहरूले सुनाकोठीबाट धापाखेल जान धापाखेल दोबाटो तथा हात्तिबनसम्मको यात्रा तय गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । ७४ लाख ८ हजार ४९३ रुपैयाँमा पुल निर्माण गर्न विश्व ज्योति विल्डर्सले ठेक्का पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो पुलको लम्बाई ५.५० मिटर रहने छ भने चौडाई एकतर्फी फुटपाथसहित ८ मिटरको रहने छ । पिल्लर बिनाको सिंगल सेल बक्स कल्भर्ट निर्माणका सन्दर्भमा हिजो सोमबार महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जन, वडासदस्य रामदेवी महर्जन, वडासचिव सनतकुमार थापा, इन्जिनियर परिक्षितबहादुर मगर, २४ नं. वडाका वडासदस्य निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, इन्जिनियर निशान्त खड्का, महानगर पूर्वाधार निर्माण शाखाका इन्जिनियर लव कार्की, शहरी विकास योजना महाशाखा अमिन भिमसेन केसीसहितको टोलीले नाप जाँच तथा स्थगलत निरीक्षण गरेको छ । महानगर पूर्वाधार निर्माण शाखाका इन्जिनियर लव कार्कीका अनुसार ठेकेदार कम्पनीका प्रतिनिधिसहितको टोलीले आज पनि उक्त स्थलको निरीक्षण गरी काम थालनी गर्ने विषयमा छलफल गरेको छ । पुल निर्माणपछि धापाखेल र सुनाकोठीवासीलाई प्रत्यक्ष लाभ लिन सक्नेछन् । सोमबार गरिएको नापजाँच तथा स्थलगत अवलोकनपछि शब्दपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै महानगर वडा नं.२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले महादेव खोलमा पुल निर्माणका लागि आफू जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आए लगतैदेखि पहल गरेको बताउँदै अहिले आएर यो प्रयास सफल हुन लागेको बताउनु भयो । ‘यसमा पहिले वडामा बसेर काम गर्नु भएका इन्जिनियर लव कार्कीको महत्वपूर्ण योगदान रहेको छ’ उहाँले भन्नुभयो । वडा नं. २४ का वडा सदस्य उद्धव बस्नेतले ललितपुर महानगरपालिकाको वडा नं. २४ र वडा नं. २७ का निर्वाचित जनप्रतिनिधिहरुको लामो प्रयास पछि पुल निर्माण कार्य सुरु हुन लागेको बताउनुभयो । महानगर पूर्वाधार निर्माण शाखाका इन्जिनियर लव कार्की सिंगल सेल बक्स कल्भर्टको चौडाई फुटपाथ सहित ८ मिटर र लम्बाई ५.५० मिटर हुने जानकारी दिनुभयो ।