काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुईजना पक्राउ

बुधबार, साउन ३०, २०८१

काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन् । प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो । उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन् । ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो । बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ । तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए। होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए । एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए। दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए । आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन्। उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन् । दुबैमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ। ती महिला भरियाले कसलाई लागुऔषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन । गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए। उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ। लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौं आइपुगेका थिए । दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलोपटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार