एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

शुक्रबार, साउन ३२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए । गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरुले बताएका छन् । अहिले पछिल्ला दिनमा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तिब्र रहेको छ । यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ । पार्टी एकताको चर्चाका बीच एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार