सोसल मिडिया
Contact Us
युनिकोड
३२ वर्ष अघि । ‘उइ वान्ट डेमोक्रेसी’ भन्दै टोलमा, गाउँमा नारा लगाएको सुन्दा , डेमोक्रेसीको उच्चारण जसोतसो गर्न सक्थेँ । डेमोक्रेसीकोे शाब्दिक अर्थ आफूभन्दा ठूलालाई सोधेरे बुझेकी थिएँ । घर अघिल्तिरको सडकमा, घरपछाडिको गोरेटोबाटोमा प्रजातन्त्रप्रेमीहरु ‘डेमोक्रेसी’को नारा लगाएर स्वतस्फूर्त रुपमा हिडेको देख्दा किन होला उनीहरुले यसरी नारा लगाएको भन्ने लाग्थ्यो । समयको क्रमसँगै टोलका, गाउँका बुबा, हुजरबुबा, आमा, काकी, दाजु उमेरकाले त्यो नारा त्यसै लगाएका होइन रहेछन् भन्ने लाग्यो । जीवनलाई हत्केलामा राखेर मुलुकमा व्यवस्था परिवर्तनका खातिर ‘उइ वान्ट डेमोक्रेसी ’ को नारा लगाउनेहरु जो २०६२-२०६३को आन्दोलनमा पनि त्यत्तिकै सक्रिय थिए । मुलुकमा देखिएको राजनीतिक अस्थिरताप्रति अहिले पनि उनीहरु चिन्तित छन् । जतिबेला मैले डेमोक्रेसी शब्द संभवत पहिलो पटक सुनेकी थिएँ, त्यतिबेला सात वर्षकी हुँदी हुँ । आफू सात वर्ष हुँदा डेमोक्रेसीको अर्थ ठूलासँग सोधेर थाहा पाएकी मलाई अचेल छ वर्षे छोरा थरीथरीका प्रश्न सोध्छ । कहिले पार्टीको नाम, कहिले प्रधानमन्त्रीको नाम त कहिले प्रजातन्त्र भनेको के हो भन्दै प्रश्न गर्छ । दश कक्षा पुरा गरेकी छोरी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको भिन्नता छुट्याउन लगाउँछे । केटाकेटी अनलाइन परीक्षा सकेर अर्को कक्षा उक्लने तयारी गरिरहेका छन् । उनीहरु अहिले बढी फुर्सदमा छन् । जिज्ञासु स्वाभावका उनीहरु फुर्सदले पनि होला मनमा उठेका सबै प्रश्न सोध्छन् । भिन्नता छुट्याउन लगाउँछन् । छ-सात वर्षको हुँदा मैले आफ्ना अभिभावकलाई जुन प्रश्न सोधेको थिएँ , मेरो छोराछोरी मलाई अहिले त्यही प्रश्न सोधिरहेका छन् । झण्डै साढे तीन दशक भन्दा लामो समय हामीले व्यवस्थालाई संस्थागत गर्नकै लागि खर्च ग¥यौं । राजनीतिक दलहरुको खिचातानीका कारण प्रजातन्त्र सधै ‘खतरा ’ छ । अस्थीर राजनीतिका कारण दल नयाँ पुस्ताले अझै कति वर्ष व्यवस्थामा जोखिममा परेको यर्थाथलाई स्वीकार गर्दै चिन्तित गर्नुपर्ने हो, यो प्रश्न अनुत्तरित छ । नयाँ पुस्ता खोज,अनुसन्धान, विकास योजनामा केन्द्रित हुनुपर्ने हो । तर सधैं भइरहने राजनीतिक गेमका कारण उनीहरु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको भिन्नता छुट्याउन व्यस्त छन् । समय खर्र्च गरिरहेका छन् । राजनीति मुलुकको माउ नीति हो । जबसम्म माउ नीति दिगो हुँदैन, तबसम्म अन्य क्षेत्रमा सोच्न र ध्यान केन्द्रित गर्न निकै गाह्रो हुन्छ । मुलुकमा देखिएको राजनीतिक खिचातानी, अस्थीरता र अराजकता देख्दा लाग्छ, नेपाल त्यस्तो देश हो जहाँ सबै पुस्ताले राजनीतिक स्थीरताको लागि नै लड्नुपर्छ । मध्यावधि निर्वाचन मुलुक र जनताको नियति नै हो । मुलुकमा देखिएको पछिल्लो राजनीतिक गतिविधि देख्दा भन्न मन लाग्छ — ‘विचरा’ हामी नेपाली । एउटै राजनीतिक दलभित्र एउटाले अर्कोको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति, एकले अर्कालाई सिध्याउने रणनीति त विपक्षीसँगको विरोध भन्दा पनि तीब्र रुपमा देखिएको छ । जुन विरोध र तिक्तता विपक्षीसँग भएको भए स्वभाविक र स्वीकार्य हुन सक्थ्यो होला । विपक्षीसँग वा विरोधीसँगको लडाई स्वभाविक हो र जायज हो । तर, जब आफ्नैसँग लडाई गर्नुपर्ने अवस्था सिर्जना हुन्छ , त्यसो सबैभन्दा घातक हुन्छ । मुलुकमा हल गर्नुपर्ने विषय यति धेरै छन् कि जुन नागरिकको दैनिक, जीवनयापन सजिलो बनाउने मात्रै होइन, मुलुकको अस्तित्व र मुलुकप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन कोशेढुंगा सावित हुन्छन् । स्वास्थ्य, शिक्षा, सामाजिक विभेद, सामाजिक सुरक्षा, रोजगारी लगायतका क्षेत्रमा गर्नुपर्ने काम धेरै छन् । तर, मुलुकको राजनीतिक अवस्था र खिचातानी देख्दा लाग्छ, अरु सबै क्षेत्र ठीक ठाक छ , यहाँ मात्रै राजनीति ठीक छैन । सिमित स्वार्थलाई मानिसको धेरै गुण मध्ये एउटा गुणको रुपमा लिन सकिन्छ । स्वार्थ रहित मानिस पाउन निक्क मुश्किल छ यो दुनियाँमा । तर, चरम स्वार्थीपन दोष हो । जुन देश, जनता र स्वय व्यक्तिको लागि पनि ठीक हुँदैन । चरम स्वार्थीपन, जिद्दीका कारण र अरुको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्तिका कारण मुलुकले राजनीतिक स्थीरता लिन नसकेको हो । २०६२÷२०६३को आन्दोलन पछि मुलुकमा राजनीतिक स्थीरताको सन्दर्भमा एक किसिमको सुनिश्चितता जस्तै थियो । सामाजिक, आर्थिक र मुलुकको समग्र विकासको सन्दर्भका अब ठोस रुपमा काम हुन्छ भन्ने थियो । तर, त्यसको केही वर्षपछि देखिएको दृश्य,परिदृश्यले त्यो संकेत गरेन् । पछिल्लो समय देखिएको घटना क्रमले त मुलुकको व्यवस्थालाई ‘यो व्यवस्था नै ठीक छैन ’भन्दै प्रश्न गर्न उद्धत देखिन्छन्,प्रजातन्त्र विरोधीहरु । खेलाडीहरु खराब हुन सक्छन् । खेलाडी खराब हुँदा खेलको नतिजा भने जस्तो नआउँला । खेलाडी ठीक नहुँदा , खेलको नतिजा राम्रो नआउँदा खेल नै ठीक छैन भन्न कदापि मिल्दैन । सयौंले बलिदानीबाट प्राप्त यो व्यवस्थामा खोट देखाएर विकल्प खोज्न खोज्ने चलखेल भए किमार्थ स्वीकार गर्दैनन् जनताले । कोरोनाको मारले जनता रन्थिनिएका बेला राजनीतिक दलका नेताहरुले देखाएको ताण्डव नृत्य देख्दा अब सम्पूर्ण सचेत चेतनशील र जागरुक नागरिकले अब कुनै वादको पछि नलागी राष्ट्रियता, विकास र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर एकजुट हुनपर्ने अहिलेको आवश्यकता हो । विकाससहितको न्यायपूर्ण समतामूलक समाज निर्मार्ण अहिलेको आवश्यकता हो ।