सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा यहाँ स्थापना हुने उद्योग तथा कम्पनीको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत् नेपाल पठाउन÷भित्र्याउन स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । विदेशी लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने व्यवस्था विनियमावलीले गरेको छ । शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । नेपाल भित्रिएको विदेशी ऋणलाई लेखाङ्कन भने विदेशी मुद्रा भित्रिएको छ महिनाभित्र गराइसक्नुपर्ने विनियमावलीले व्यवस्था गरेको छ । यस विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखाङ्कन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखाङ्कनका लागिसमेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । कागजपत्र पूरा भएको सात दिनभित्र लेखाङ्कन गरिसक्ने नयाँ व्यवस्था गरिएको छ । लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरे पश्चात् आवश्यक मुद्रा सहजै रूपमा नेपाल पठाउन पाउनेछन् । विदेशी ऋण लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिने समेत व्यवस्था गरिएको छ । त्यस्तो विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकिएको अनुसूची अनुसारको ढाँचामा प्रमाणपत्र जारी गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।
‘विदेशी लगानी नीति सकारात्मक’ राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकामा परिसंघले बैंकलाई धन्यवाद दिएको छ । परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’अभियान अगाडि बढाइहेको छ । विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन भन्ने व्यवस्था छ । यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ । विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखांकनका लागि निवेदन दिएको सात कार्य दिनभित्र लेखांकन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्थले विदेशी लगानी र ऋणको लेखांकन छिटो सम्पन्न गरी लगानीकर्तालाई समयमै निर्णय प्राप्त गर्ने जनाइएको छ । विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको १५ कार्य दिनभित्र बैंकले निर्णय दिनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यसले लगानीकर्ताले आर्जन गरेको रकम लैजान थप सहज हुने विश्वास परिसंघको छ । एकल विन्दु सेवा केन्द्रमा रहेको बैंकको एकाइमार्फत रकम लैजाने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्थाले लगानीकर्तालाई सहज सेवाप्रदानको विश्वास प्राप्त हुने पनि परिसंघले विश्वास लिएको छ । बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण गर्न समिति गठन गरेको छ । विनियमावलीमार्फत गठन गरिएको यस्तो समितिले विदेशी लगानीकर्ताले भोगेका समस्या समाधान गर्न सहजता प्रदान गर्ने विश्वास परिसंघको छ ।