लहैलहैमा शेयर बजारमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह 

लगानी जोखिममा पर्न सक्नेतर्फ सचेत रहन निर्देशन 
बुधबार, जेठ २६, २०७८

काठमाडौँ । के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ । पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण  गर्दैन । तर,  बजार लगातार उकालो लाग्दा धेरैलाई खुसी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुरै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दुई हजार ९६० अङ्कमा पुगेको छ । बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।
पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक  बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुन बोर्डले आग्रह गरेको छ ।
बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक तरिकाले वृद्धि भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । यस्तै, २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् । गत असारमा अनलाइन कारोवारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई छ लाख ६० हजार पुगेको छ । औसतमा छ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ ।
चालु आवको दश महिनामा मात्रै धितोपत्रको प्राथमिक बजार मार्फत रु ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासको उच्च हो । नेप्से परिसूचक गत असारमा एक हजार ३६२ बिन्दुबाट हाल करिब दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।
यस्तै, बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकाले लगानीकर्ताले आफनो जोखिम बहन गर्न सक्ने क्षमतालाई हेरेर सुझबुझपूर्ण तरिकाले निर्णय गर्नु आवश्यक छ ।
धितोपत्रको दोस्रो बजारमा कारोवारको वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर टे«डिङ भएका गुनासा प्राप्त भएको बोर्डको भनाइ छ । सो बारेमा बोर्डले आवश्यक अध्ययन समेत गरिरहेको छ । अध्ययनका लागि केही समय लाग्ने भन्दै बोर्डले धितोपत्र लगानीसम्बन्धी ऐन, २०६३ ले गर्न नहुने भनेर निदृष्ट गरेको क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराएको छ । लगानीकर्तालाई देशको आर्थिक परिदृश्य सूचीकृत कम्पनीको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रति शेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत हेरेर लगानी गर्न बोर्डले सबैलाई आग्रह गरेको छ । बोर्डले लहैलहैमा नलागी लगानीसम्बन्धी निर्णय गर्न विशेष अनुरोध गरेको छ । लगानीको निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनकिो हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गर्न बोर्डले सुझाएको छ । 
धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ । बजारको सिद्धान्त अनुरूप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा जोखिम पनि हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न आग्रह गरिएको बोर्डका प्रवक्ता गिरीले जानकारी दिए । 

नेप्सेमा चमक 
मुलुकको कूल गार्हस्थ  उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताउनुभएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो । उहाँले आज आयोजित एक श्रव्यदृश्य कार्यक्रममा उक्त जानकारी दिनुभएको थियो । सोमबारको तुलनामा आज बजार पूँजीकरण मात्रै रु ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको हो । मुलुकको कूल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुगेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुगेको छ ।
नेप्सेका अनुसार कूल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता शेयर रु १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३,जीवन बीमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब छ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 
रसुवागडी हाइड्रोपावर रु ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी रु ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक रु ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक रु ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।  यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार