सोसल मिडिया
Contact Us
युनिकोड
शब्दपाटी डिजिटल मिडियाले स्थानीय सरकारलाई बलियो बनाउन स्थानीय तहमा भएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । यसका लागि हामीले नगरपालिका–गाउँपालिकाका प्रमुख–उप्रमुख÷अध्यक्ष–उपाध्यक्षसहित वडा अध्यक्ष तथा वडा सदस्यहरूसँगको कुराकानी निरन्तर प्रस्तुत गरिरहेका छौँ । जनप्रतिनिधिसँग शब्दपाटीको यो श्रृँङ्खलामा यस पटक हामीले ललितपुर महानगरपालिका वडा नंं. १४ का महिला वडा सदस्य सहनशीला कार्कीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ वडासदस्य कार्कीसँगको कुराकानी ।
हिजोआज यहाँको दिनचर्या कस्तो छ ? बिहान उठेदेखि बेलुकाको ८–९ बजेसम्म व्यस्त हुन्छु । जनप्रतिनिधिको जिम्मेवारी, पारिवारिक जिम्मेवारी र समाजमा बसेपछि सामाजिक जिम्मेवारी पुरा गर्नुपर्छ समय बितेको पत्तै पाउँदिन । आफ्नो काममा रमाएको छु । खुशी छु । समग्रमा दिनचर्या व्यस्त छ ।
भनेपछि जनप्रतिनिधि हुन गाह्रो हुँदो रहेछ ? जनताको काम गर्नु, सामाजिक काममा व्यस्त रहनु मेरो सानैदेखिको रुचिको विषय हो । त्यसैले मैले यसलाई गाह्रो रुपमा लिएकी छैन । कहिलेकाहिँ हुने घटनाले सिर्जना गर्ने वातावरण र परिस्थितिले गाह्रो भएको अनुभव हुन्छ । तर , म त्यसमै अल्झिएर बस्दिन । त्यसलाई त्यही छोडेर अगाडि बढ्छु । यसो गर्न सकिएन भने अघि बढ्न सकिदैंन भन्ने मैले बुझेकी छु ।
तपाईले जनप्रतिनिधिको रुपमा बिताउनुभएको दुई वर्षको अवधिलाई समग्रमा कसरी मूल्याङकन गर्नुहुन्छ ? गत वर्ष भन्दा यो वर्ष धेरै अनुभव हासिल गर्ने मौका पाएँ । अघिल्लो वर्ष पहिलो वर्ष भएकाले कार्य विभाजन भएको थिएन । वडाले दिनुपर्ने सेवा सुविधाको सन्दर्भमा हामी आफै अलमलमा परेको अवस्था थियो । नीति, कार्ययोजनाको बारेमा पनि राम्रो ज्ञान नभइसकेको हुनाले काममा अलिकति ढिलासुस्ती भएको थियो । तर, जतिबेलादेखि काम सुरु गर्यौँ ,अविरल रुपमा काम गर्याैँ । विभिन्न महिला समूह गठन गरेर हामीले वडा स्तरमा महिला सञ्जालबाट कार्यक्रम सुरु गर्दा धेरै नै सजिलो भयो । हाम्रो सचिव बिमला शर्माज्यू पनि एकदमै सहयोगी हुनुहुन्छ । उहाँलाई हृदयदेखि नै धन्यवाद दिन्छु । राजनीतिमा लाग्नु भनेको सामाजिक काम गर्नु हो । एक्लैले गरेर गर्न सकिँदैन । यसको लागि समूह आवश्यक पर्छ । सकारात्मक सोच भएको बलियो समूह भयो भने काम गर्न गाह्रो हुँदैन । सबै काम गर्न सकिन्छ । समग्रमा पाँच वर्षे कार्यकालको दुई वर्ष परिणाममुखी भएको छ । महिला दिदीबहिनीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने उद्देश्यसहित काम गरेको छु । आर्थिक रुपमा आत्मनिर्भर हुन महिला दिदीबहिनीलाई तालिममा सहभागी गराएका थियौं । तालिम प्राप्त दिदीबहिनी स्वरोजगार हुनुभएको छ । यो हाम्रो उपलब्धि हो ।
महिलाको क्षेत्रमा बाहेक अन्य क्षेत्रहरूमा यहाँको संलग्नता कस्तो रह्यो ? पूर्वाधार निर्माणको कामको बारेमा बैठकले नै निर्णय गर्छ । बैठकले समयमै निर्णय गरेर काम गर्दा काम चुस्त भएको छ । ढिलासुस्ती भएको छैन । विकास निर्माणको योजनामा हाम्रो वडा समूहले गरेका काममा हामीले साथ दिएका छाैँ । सहयोग गरेका छौँ । वडाअध्यक्षसहित वडा कार्यालयमा हामी छ जना जनप्रतिनिधि छाैँ। छजनाको एक मत, एक साथले नै हाम्रो वडा विकास योजनाको काम अघि बढिरहेको छ ।
यहाँले नेतृत्व गरिरहनु भएको महिला तथा लक्षित वर्ग कार्यक्रम अन्तर्गत यो दुई वर्ष भित्र कस्ता उपलब्धिहरू हासिल भए ? पहिलो वर्ष त हामीले क्षमता अभिवृद्धिमा नै जोड दियौँ । यो वर्ष महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि सीपमूलक कार्यक्रमहरुमा जोड दिएका छौंँ । हामीले ऊनको कपडा बनाउने तालिम, नेपाली ढाका बनाउने तालिम मखमलको जुत्ता बनाउने तालिमलगायतका तालिम दिएका छौंँ । प्लाष्टिकको झोलालाई विस्थापित गर्न कपडाको झोला बनाउने तालिम पनि दिएका छौं । यो वर्ष चारवटा क्षेत्रमा तालिम दिएका छौँ । मस्यौरा, कर्कलोको गावा सुकाउने तालिम दिइएको छ । खाद्य प्रविधि विभागबाट आएका विज्ञहरुले तालिम दिएका हुन् । जुत्ता, ऊनको लुगा सिलाउनेहरु मध्येबाट ५-७ जनाले त्यसलाई निरन्तरता दिइरहनु भएको छ । एक हिसाबले महिला दिदिबहिनीहरू उद्यमशिलतामा पहिलो खुड्किलो उक्लिरहनु भएको छ ।
अहिलेकै गतिमा काम भयो भने बाँकी तीन वर्षको अवधिमा यहाँले तय गर्नुभएजस्तो उपलब्धि हासिल होला ? Team work मा विश्वास गरेर काम गर्यो भने तय गरेका उपलब्धिहरु हासिल गर्न सकिन्छ । ‘असम्भव’ भन्ने कुरा शब्दकोषबाट नै हटाउनुपर्ने हुन्छ । आज अन्तर्राष्ट्रिय योग दिवसको दिन, योग क्लासमा चारजना पुरुषहरु देखियो । बाँकी सबै महिला नै हुनुहुन्थ्यो भने बाकि सम्पूर्ण सयजनाको हारहारीमा महिला दिदिबहिनीहरु उपस्थित हुनुहुन्थ्यो । प्रायःजसो कार्यक्रममा महिलाको उत्साहजनक उपस्थिति हुन्छ । केहि गरौँ, केहि सिकौँ र केहि आफ्नो लागि, केहि समाजको लागि र केहि देशको लागि पनि गरौँ भन्ने भावना बोकेर उहाँहरु हिँड्नुभएको छ । हामीले अझै उहाँहरुको लागि धेरै कार्यक्रमहरु ल्याउनु नै छ । हामीले ल्याउने कार्यक्रमहरूमा उहाँहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्छ । आगामी दिनहरूमा अझैपनि सचेतना कार्यक्रमहरु ल्याउँदैछौ । सीपमूलक कार्यक्रमसँग दिदीबहिनीको समूहलाई जोडेर अझै जोडेर ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाबाट छनोट हुने उत्कृष्ट महिला समूहमा वडा नं.१४ को महिला समूहलाई पार्ने योजना बनाएको छु ।
यहाँले पहिलो वर्ष सैद्धान्तिक कुरा गरियो, दोश्रो वर्ष व्यावहारिक कुरा गरियो भन्नुभयो । अब तेश्रो वर्ष चाहिँ कस्तो कार्यक्रमहरू ल्याउँदै हुुनुहुन्छ ? हामीले समयको माग र महिला दिदिबहिनीहरुको माग अनुसार, वर्षमा आवश्यकता अनुसार बैठक राख्छौँ । उहाँहरुसँग सहकार्य गरेर बैठकबाट आएको कुराहरुलाई लिएर अघि बढ्छौँ । आर्थिक वर्ष २०८१-२०८२ मा उद्यमशीलतालाई नै प्राथमिकतामा राख्छौँ । किनभने, आर्थिक रुपमा महिला बलियो नभए सम्म उहाहरु बलियो हुन सक्नु हुन्न । आर्थिक सशक्तिकरण विना अन्य सशक्तिकरण फिक्का हुन्छ ।
जनप्रतिनिधि हुँदा र पेशा व्यवसायमा संलग्न नागरिक हुँदा दृष्टिकोण कस्तो हुँदो रहेछ । आफ्नो अनुभवलाई विश्लेषण गरिदिनुस् न ? नागरिकको भूमिकामा रहँदा र जनप्रतिनिधि हुँदा धेरै फरक हुन्छ । नागरिकमात्रै हुँदा यो भएन, त्यो भएन भन्ने कुरा मात्रै आउँथ्यो । वडाले यो गरेन, त्यो गरेन भन्ने लाग्थ्यो । तर अहिले, कहाँ के भयो , कहाँ के भएन भन्ने कुरा तुलना गरेर हेर्न मन लाग्छ । म त्यो तुलना गरेर हेर्छु । कस्तो योजना हाम्रो वडालाई आवश्यक छ, त्यसबारे सौच्ने, विचार गर्ने तर्फ ध्यान केन्द्रित हुँदो रहेछ । पछाडि बसेर कुरा गर्नु सजिलो हुने गरिरहनु सजिलो रहेछ। आफू नै त्यस ठाउँमा बसेर काम गर्दा चुनौतीसँग मुकाविला गर्ने, सामना गर्ने र समाधानको बाटो खोज्ने काम पनि गर्न सकिदो रहेछ । अहिले म विहान पाँच बजे नै हिड्छु किनभने वडामा र घरमा मात्र बसेर मेरो वडामा कहाँ विकास गर्नुपर्छ भनेर मैले थाहाँ पाउँदिन । बिहान हिड्दा शरीर पनि स्वस्थ हुने वडाभित्र भएको विकास निर्माण र आवश्यकताको बारेमा पनि जानकारी प्राप्त गर्न सजिलो भएको छ । दिदिबहिनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउने मेरो अन्तरमनको इच्छा हो । उहाँहरुलाई राज्यलाई हामीले कर तिरेका छौँ त्यसको सदुपयोग गर्नुस् भन्ने गरेको छु । ‘वडाले कार्यक्रम गरेको छ, हामी गइदिम नभन्नुस्, तपार्ईंहरुले नै तिर्नु भएको करबाट कार्यक्र भएको हो, त्यसको सदुपयोग गर्नुस् ’ भन्छु । यो वडा शिक्षित वर्गको बसोबास भएको वडा हो । यो वडालाई सफा, सुन्दर र हराभरा बनाउन हामी सबैले आ आफ्नो क्षेत्रबाट काम गरिरहेका छौँ । हामीले जुन ५ अर्थात वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम ग¥यौंँ । आवश्यक पर्दा हामी सबै एकजुट हुन्छौँ । यो मेरो क्षेत्र होइन भनेर वेवास्ता गर्दैनौं । जस्तै खानेपानीको समस्या हाम्रो वडामा मात्रै होइन, सबैतिर छ, हाम्रो वडामा खानेपानी व्यवस्थापनको क्षेत्र वडा सदस्य सनत कार्कीज्यूले हेर्नुहुन्छ । उहाँले खानेपानीको व्यवस्थापनमा सक्दो काम गरिराख्नु भएको छ । आवश्यक पर्दा हामी जानुपर्ने ठाउँमा हामी उहाँलाई साथ दिएर अगाडि बढिरहेका छौँ । अर्थात, काम गर्नका लागि क्षेत्र छुट्याएपनि आवश्यक पर्दा हामी एक भएर काम गर्छौँ ।