गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानबस्न चर्को शुल्क लिएको गुनासो

मंगलबार, भदौ ४, २०८१

काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने  भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ ।  यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस बर्ष आठ हजार मात्र भक्तजन निलाद्री पर्वत पुगेको तथ्यांक छ ।  जनैपूर्णिमाका अवसरमा गत वर्ष १६ हजार भक्तजनले निलाद्री पर्वत पुगेर स्नान गरेको भएपनि यसबर्ष आठ हजार भक्तजन घटेको चोलाङपाटी लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि सिनियर गेम स्काउट अर्जुन गौतमले जानकारी  दिए । सुत्ने ठाउँ र खानाकै समस्याका कारण यसरी बर्षेनी भक्तजनको संख्या घटेको तीर्थयात्री क्षितिज मैनालीले बताए । उनले भने, ‘पर्वको अवसरमा घुम्न र गोसाइकुण्डको दर्शन गन भन्ने थियो । तर यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठ्यारो भयो । घुम्न आउनु भनेर अरूलाई सुझाव दिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरूको समेत व्यवस्था छैन ।’ 
गोसाइकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरूले बढी पैसा लिने गरेका कारणसमेत समयमा तीर्थयात्रीहरूले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो ।
यस्तै अर्का यात्री डिल्लीराम आचार्यले पनि खानाको लागि उपयुक्त ठाउँ नभएकाले भक्तजन घटेको गुनासो गरे । यस्तै उनले यातायातको सुविधा नहुनु मूख्य समस्या भएको बताए । 

Photo-(22)-1724169580.jpg
उनले  भने, ‘भगवानको दर्शन गर्न पाउँदा खुसी त लागेको छ । तर खानबस्नको लागि स्थान उपयुक्त लागेन । होटलहरुले पनि त्यति राम्रो खुवाउँदैनन् । अझ भक्तजनको कमी हुनु भनेको सबैभन्दा मुख्य समस्या यातायात नै हो ।’
साथै उनले समितिले तोकेको पैसा भन्दा खानामा होटल व्यवसायीले बढी पैसा असुलेको आरोप लगाए ।  
कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरूलाई हम्मेहम्मे परेको थियो । तर यो वर्ष यात्रुको चाप थोरै भए पनि खोलिएका लजले थेग्न नसक्ने तथा बढी मूल्य लिएर खाना दिने गरेको तीर्थयात्रीहरुको गुनासो छ । तर गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले तुलनतात्मक रुपमा भक्तजनको संख्या केही कमी भएपनि व्यवस्थापनमा कमजोरी नभएको बताए । ‘यस बर्ष नौं देखि १० हजार भक्तजन गोसाइकुण्ड पुगेका छन् । अलिक अगाडिदेखिकै गणना गर्ने हो भने १२ हजार बढीले दर्शन गरेका छन्,’ उनले भने,‘चित्तबुझ्दो संख्या त नहोला तर आउने भनेको यस्तै हो ।’

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार